अख्तियार कार्यलय अगाडी प्रदर्शन गर्ने विवेकशील साझाका कार्यकर्ता पक्राउ

69

फागुन ८
काठमाडौं-विवेकशील साझा पार्टीले बुधबार बिहान भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा प्रदर्शन गरेको छ। भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियारकै आयुक्त भ्रष्टाचारमा संलग्न रहेको कुरा बाहिरिएपछि अख्तियार कार्यलय अगाडी प्रदर्शन गरिएको विवेकशील साझाले जनाएको छ ।

देशमा देखिएको भ्रष्टाचार, अनियमितता र त्यसलाई निवारण गर्ने काममा सरकारले देखाएको उदासीनताकोविरुद्धमा प्रदर्शन रहेको बताइएको छ । प्रदर्शनका क्रममा अख्तियारले साना भ्रष्टचारीलाई मात्रै समातेको तर ठूला भ्रष्टाचारतर्फ चासो नदेखाएकोप्रति व्यङ्ग्य गरिएको थियो । उनीहरुले ठूलो माछा कहाँ छन् रु भन्दै माछाको प्रतिमा बनाएर त्यसमाथि नेपालमा पछिल्लो समय चर्चित आर्थिक अनियमितताका प्रसङ्गबारे उल्लेख गरिएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले ३० भन्दा बढी नेता कार्याकर्तालाई नियन्त्रणमा लिएको विकेकशील साझाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् । संयोजक रवीन्द्र मिश्रले पनि ट्वीटरमा पोस्ट गर्दै प्रदर्शनका क्रममा प्रहरीले प्रदेश ३ संयोजक समीक्षा बास्कोटा, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ, केन्द्रीय सदस्य माण्डवी पौडेलसहितलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

‘अख्तियारका व्यक्ति आफैं भ्रष्टचार काण्डमा मुछिनुले देशमा भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने उजागर गरेको छ,’ केन्द्रीय सदस्य परियारले भने– ‘अख्तियारले उनीहरुले नै भन्दै आएका ठूला माछातर्फ ध्यान दिएको देखिदैन्, त्यसको खबरदारीका लागि हाम्रो प्रदर्शन हो।’