मन्त्री हेरफेरको तयारी

72

समाचारपत्र दैनिक/मधुसूदन रायमाझी,
फागुन ७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने भद्र सहमति भएको हो । सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमति बमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने गृहकार्य अगाडि बढेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरेपछि नागरिकस्तरबाट आलोचना सुरु भएको छ । सरकारले प्रभावकारी काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेको बेला नेकपाभित्र भने मन्त्री फेर्ने गृहकार्य अगाडि बढेको स्रोतको दाबी छ । स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए । उनका अनुसार हाल सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री ओलीको मूल स्प्रिटलाई पक्रन नसकेकाले मन्त्री फेर्ने अध्यक्षद्वयले गृहकार्य गरेका हुन् । सरकारमा नेकपाको तर्फबाट प्रधानमन्त्रीसहित २२ र संघीय समाजवादी फोरम ३ गरी २५ जना मन्त्री रहेका छन् । जसमा प्रधानमन्त्रीसहित २२ जना मन्त्री र ३ जना राज्यमन्त्री रहेका छन् ।