काँग्रेसको मूल्याङ्कन : सरकार तेस्रो श्रेणीमा पास हुन सकेन

62

फागुन ५,
काठमाडौं– काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको एक वर्षमै जनविश्वास गुमाएको टिप्पणी गरेको छ । यही फागुन ३ गते ओली नेतृत्वको सरकारको कार्यकाल १ वर्ष पुगेको सन्दर्भमा काँग्रेसले एक वर्षको अवधिमा जनताले चाहेजस्तो परिवर्तनको अनुभूति हुन नसकेको टिप्पणी गरेको हो ।
आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकार तेस्रो श्रेणीमा पनि पास हुन नसकेको भन्दै टिप्पणी गरे। प्रधानमन्त्रीले वर्ष दिनका अवसरमा गरेको सम्बोधन तेस्रो श्रेणीमा पास हुन नसकेको निवन्ध जस्तो भएको उनले बताए।

फागुन २ गतेको सम्बोधनमा प्रधानमन्त्री ओलीले जग खन्न नपाई छानाको अपेक्षा गर्न नसकिने भन्दै सरकारले क्रमिक रुपमा काम गरिरहेको भन्दै धैर्य गर्न प्रतिपक्षी दल काँग्रेसलाई आग्रह गरेका थिए । ओलीले काँग्रेसले आफू नेतृत्वको सरकारबारे अनेक गलत प्रचार गराइरहेको आशयसहित यस्तो जवाफ दिएका थिए । जवाफका काँग्रेसले छानाको अपेक्षा भन्दा पनि जग नै कमजोर भएको प्रतिक्रिया दिएको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति जनविश्वास बढ्दै जानुमा ५ कारण प्रस्तुत गरे । जसमा गोविन्दको केसीको माग पूरा गर्न उदासीनता देखाइएको, बूढीगण्डकी जलविद्युत निर्माणको जिम्मा विदेशी, कम्पनीलाई दिइएको, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न नसकेको र निर्दोषलाई फसाउन खोजिएको तथा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दलले जबरजस्ती गरिएको उल्लेख गरिएको छ ।

यस्तै सरकारले सञ्चारमाध्यबाट खतरा देखेर अंकुश लगाउने गरी कानुनहरु निर्माण गर्न लागेको पनि काँग्रेसले आरोप लगाएको छ ।