महाअभियोगबाट उम्कन राजीनामा

77

समाचारपत्र दैनिक/मनोज रेग्मी,
फागुन ४, काठमाडौं । घूस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन्। भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन कलेज सञ्चालकसँग ७८ लाख रुपियाँ घूस लिएको तथ्य सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। पाठकले घूस लिएको स्वीकारेको भिडियो सार्वजनिक भएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उनलाई महाअभियोग लगाउने तयारी थालिसकेको थियो। यति नै बेला महाअभियोगबाट उम्कनका लागि उनले राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कुनै हालतमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरिरहेका बेला भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य पाठक नै घूस काण्डमा संलग्न भएको खुलासा भएको हो।
एउटै शैक्षिक संस्थासँग जोडिएको भ्रष्टाचार मिलाउन घूस लिएर राजीनामा दिन बाध्य भएका पाठकसँग जोडिएको यो नै पहिलो विवादित घटना भने होइन। गत २०७१ सालमा आयुक्त बनेर टंगाल प्रवेश गरेदेखि नै पाठकले खुलेआम घूस लिने गरेको उनकै सहकर्मीले बताएका छन्। आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपियाँ घूस लिएका हुन्। २०७४ भदौमा समितिका अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले सो रकम लिएको खुलासा भएको छ।