कस्ले बेच्यो २ अर्व बरावरको एभरेष्ट बैंकको संस्थापक शेयर?

77

फागुन २,
काठमाडौं- नेपाल राष्ट्र बैंकले एभरेष्ट बैंकको लाभांश वितरणमा रोक लगाएपछि संस्थापक बिके श्रेष्ठको परिवारले शेयर बिक्री गरेको छ। श्रेष्ठकै परिवार भित्रका राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठले प्रतिमा श्रेष्ठलाई शेयर बिक्री गरेका हुन।

स्रोतका अनुसार राधा र नेपालकृष्ण श्रेष्ठको नाममा रहेको बैंकको ७२ लाख ३६ हजार ३७५ कित्ता शेयर विहीबार प्रतिमाको नाममा बिक्री भएको छ। प्रति शेयर २६५ रुपैयाँको दरले १ अर्ब ९१ करोड रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुसार राधा श्रेष्ठको नाममा ५२ लाख ७७ हजार कित्ता र नेपालकृष्ण श्रेष्ठको नाममा ६३ लाख ४५ हजार कित्ता शेयर स्वामित्व रहेको छ। यसैगरी प्रतिमा श्रेष्ठको नाममा ४७ लाख ३२ हजार कित्ता शेयर रहेको थियो। यसैगरी अध्यक्ष बिके श्रेष्ठको नाममा ७३ लाख ७२ हजार कित्ता शेयर स्वामित्व थियो।

केन्द्रीय बैंकले यही विवरणका आधारमा नियमभन्दा धेरै शेयर स्वामित्व राखेको भन्दै लाभांश वितरणमा रोक लगाएपछि एकाघरभित्रको शेयर विहीबार बेचिएको छ।

विहीबारको शेयर कारोबारपछि एभरेष्ट बैंकमा प्रतिमाको शेयर स्वामित्व १४।८३ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले एकाघर भित्र १५ प्रतिशत शेयर रहेको भन्दै लाभांश वितरणमा रोक लगाएपछि श्रेष्ठले नजिकको नाता पर्नेलाई शेयर स्थानान्तरण गरेका हुन्।
राष्ट्र बैंकले यसअघि पनि लाभांस वितरणमा रोक लगाउँदा बिकेले खलक भित्रै शेयर हस्तान्तरण गरेका थिए। बैंकको यस भन्दा अगाडि संस्थापक शेयरको सबैभन्दा धेरै कारोबार ४१ करोड रुपैयाँको भएको थियो।

विहीबारको कारोबारबाट बिकेको परिवारले ९ करोड रुपैयाँ भन्दा धेरैको कर तिर्नुपर्नेछ।


बैंकले गत आर्थिक वर्षको नाफाबाट एक अर्ब ६० करोड रुपैयाँ नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग अनुमती मागेको थियो। तर राष्ट्र बैंकले नियम विपरित शेयर धारण गरेको भन्दै लाभांश वितरणमा रोक लगाएको थियो। बिजमाण्डू