Sunday, September 27, 2026
Home राजनीति समसामयिक विषयमा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

117

२५ माघ
काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताइन्।

सांसद महेश बस्नेतले काठमाडौँको वाग्मती लगातयका नदीनालाको सरसफाइ गर्दै प्लास्टिकका कारण झन फोहर बढ्दै गएको सन्दर्भमा त्यसको सही व्यवस्थापन गर्न माग गरे।

सांसद महेश्वरजङ्ग गहतराजले बाँके जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कारवाही गर्न माग गरे।

सांसद मीना सुब्बाले रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा पुगेका महिलालाई बन्धक बनाएर राखेको भन्दै त्यसबारे चासो देखाउन सरकारसँग अपिल गरिन्।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा चट्याङका कारण मृत्यु भएका परिवार र घाइतेलाई उचित क्षतिपूर्तिको माग गरे।

सांसद यशोदा सुवेदीले लमजुङको वेँसीशहरबाट मनाङको सदरमुकाम चामेसम्मको सडक खण्ड अन्तर्गत स्यान्तुङ खोलामा ठूला ठूला ढुङ्गा खसेर बाटो अवरुद्ध भएको बारे सरकारको ध्यानाकर्षण गराइन्।

सांसद रङ्गमती शाहीले हुम्ला जिल्लामा समयमा खाद्यान्न नपुग्दा जनता सास्ती खेप्न बाध्य हुनुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

सांसद राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले मुलुकको शान्ति, सुरक्षा र बढ्दै गएको भ्रष्टाचार न्यूनीकरणका विषयमा आवश्यक काम गर्न माग गरे।-रासस