Thursday, October 22, 2026
Home अर्थ बेरुजु फछ्र्यौटमा लेखा समितिको चासो

बेरुजु फछ्र्यौटमा लेखा समितिको चासो

100

माघ २४,
काठमाडौँ -प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समितिमा छलफल हुन बाँकी रहेका महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफललाई आगामी वैशाख महीनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाहरुको आगामी तीन महीनाभित्र लेखापरीक्षण गराउन सम्बन्धित तालुक निकायलाई निर्देशन दिएको हो ।

समितिका सभापति भरतकुमार शाहले महालेखापरीक्षकको बाँकी प्रतिवदेनको छलफलका लागि समिति, महालेखापरीक्षकको कार्यालय र सम्बन्धित निकायले कार्यतालिका बनाई सहकार्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले बेरुजु नआउने गरी आर्थिक कारोवार सञ्चालन गर्ने अधिकारी ९कर्मचारी० र बेरुजु कायम गर्न गराउन भूमिका खेल्ने कर्मचारीको अभिलेख राखी सरुवा, पदस्थापन तथा अन्य वृत्ति विकासका अवसर प्रदान गर्दा सोलाई आधार बनाउने गरी मापदण्ड निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ ।

बेरुजु कायम हुनेतर्फभन्दा कायम भएको बेरुजु फछ्र्यौट गर्नेतर्फ धेरै जोड दिने प्रवृत्ति देखिएकाले आर्थिक कारोवार सञ्चालन गर्दा कमभन्दा कम बेरुजु कायम गर्ने गराउनेतर्फ ध्यान दिन मन्त्रालय, आयोग तथा सचिवालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले बेरुजु फछ्र्यौट सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरुको अनिवार्यरूपमा कार्यान्वयन गर्ने र दुई महीनामा समितिमा प्रतिवेदन पेश गर्न मन्त्रालय, संवैधानिक निकाय, आयोग, विकास समिति तथा सचिवालयलाई निर्देशन दिएको छ ।

महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदनले औँल्याएको बेरुजुका आधारमा समितिले सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय, आयोगलगायत कार्यालयका प्रमुखलाई बोलाएर बेरुजुको अवस्थाबारे जानकारी दिएको हो ।-रासस