एकीकरण गोलचक्कर: नेकपामा कार्यदलको अधिकार सचिवालयमै

71

नयाँ पत्रिका दैनिक/शुरोजंग पाण्डे
माघ २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एकीकरणसम्बन्धी छलफल सचिवालयमै गर्ने भन्दै तत्काल प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले एकीकरणको बाँकी काम र कार्यविभाजनको गृहकार्यका लागि गठित कार्यदललाई तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।एकीकरणयता चारवटा कार्यदल बने पनि नेकपाले अधिकांश निर्णयहरू सचिवालयबाटै गर्दै आएको छ । सचिवालय सदस्यहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेलसहितको नौसदस्यीय चौथो कार्यदल स्थायी समितिको कार्यादेशअनुसार गृहकार्य गर्न असफल भएपछि सचिवालय बैठकले अहिलेसम्मको कार्यप्रगति विवरणसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

‘कार्यदलले किन कार्यादेशअनुसार गृहकार्य गरेर प्रतिवेदन बुझाउन सकेन भन्ने विषयमा बैठकमा गहिरिएर छलफल भएन,’ बैठकपछि वरिष्ठ नेता झलनाथ खनालले नयाँ पत्रिकासँग भने, ‘तर किन काम हुन सकेन, उहाँहरूलाई नै कारणसहित खुलाएर जतिसक्दो छिटो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।’ १२ पुसमा सम्पन्न स्थायी समिति बैठकले कार्यदल बनाएको थियो ।