Wednesday, October 7, 2026
Home खेलकुद नेपाली क्रिकेट टिम स्वदेश फर्किँदै

नेपाली क्रिकेट टिम स्वदेश फर्किँदै

103

एजेन्सी, माघ २१,
काठमाडौं – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार दिउँसो स्वदेश फर्कंदै छ। दुईवटा ऐतिहासिक शृंखला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का उपाध्यक्ष पिताम्बर तिम्सिनाका अनुसार क्रकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ। नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरेसँगै त्रिपुरेश्वरस्थित राखेप परिसर पुर्‍याइने कार्यक्रम छ। ुमैले प्रधानमन्त्रीज्यूसँग कुरा गरिसकेको छु, प्रधानमन्त्रीको समय मिलेपछि सरकारी तवरबाट उच्च सम्मानको कार्यक्रम बन्नेछु उपाध्यक्ष तिम्सिनाले भने। यसैबीच नेपाली युवा बलर सन्दीप लामिछाने भने राष्ट्रिय टोलीका साथ आज नेपाल नफर्कने भएका छन्। लामिछाने बिग बास लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएइ)बाट अष्ट्रेलिया जाने भएका हुन्। उनी सो लिग बीचमै छोडेर बिपिएलका लागि बंगलादेश गएका थिए। बंगलादेशबाट राष्ट्रिय टोलीबाट यूएइमा तीन एक दिवसीय र तीनवटा टि–२० शृङ्खला खेलेका उनी पुनः अष्ट्रेलिया जान लागेका हुन्। अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन्। बिग बासको शुरुआती चार खेल खेलेर सन्दीप बंगलादेश प्रिमियर लिग ९बिपिएल० लिग खेल बंगलादेश आएका थिए। घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० शृङ्खला समान २–१ ले जितेको थियो। दुवै श्रृंखलाको सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई श्रृंखला आफ्नो पक्षमा पारेको थियो। नेपाली टोलीका लागि दुवै श्रृंखला ऐतिहासिक श्रृंखलासमेत रहेको थियो। नेपालले पहिलो पटक एकदिवसीय र टी–२० श्रृंखला जितेको हो। उक्त प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमानसमेत बनाएका थिए। रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन्। उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए। यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने। टी–२० श्रृंखला खेल्नुअघि नेपालले यूएइसँग तीन म्याचको एकदिवसीय श्रृंखला खेलेको थियो। दुवै श्रृंखलामा नेपालको प्रदर्शनमा एउटा समानता रह्यो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै श्रृंखलामा २–१ को कब्जा।