सरकारले समृद्धिको लागी नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको छ ;प्रधानमन्त्री

69

माघ १७,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका छन्। प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता चूमिरहेको दाबी पनि गरे। बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै उनले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे। जनताको चाहनाअनुसार विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारले मुलुकको आवश्यक्ताअनुसार नयाँ–नयाँ प्रविधि भित्र्याउँदै जाने प्रधानमन्त्री ओलीको योजना छ। प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन एक कदम अघि बढने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक अघि बढाउने दृढता पनि व्यक्त गरे। त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको प्रगतिको कामना पनि गरे। कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनमा एचडी प्रशारण गर्न आफूले ठूलै मिहिनेत गर्नुपरेको बताए। उनले नेपाल टेलिभिजनलाई छिट्टै सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्ने घोषणा पनि गरे। नेपाल टेलिभिजन सरकारी नभई जनता र राष्ट्रको टेलिभिजन भएको उल्लेख गर्दै उनले नेपाल टेलिभिजनमा राजनीतिक कार्यकर्ता बनेर गडबडी गर्न नदिने पनि स्पष्ट पारे। मन्त्री बास्कोटाले ‘चारतारे’ र ‘लालतारे’ बनेर आउनेले नेपाल टेलिभिजनलाई गडबडी गर्ने गरेको उल्लेख गर्दै अव त्यस्ता गतिविधि हुन नदिने चेतावनी पनि दिए। उनले अन्य संचार माध्यामसँग प्रतिस्पर्धा गरेर नेपाल टेलिभिजनलाई अघि बढाउन पनि त्यहाँका कर्मचारीहरुलाई सचेत गराए। मन्त्री बास्कोटाले नेपाल टेलिभिजनमाथि सरकारले हस्तक्षेप नगर्ने पनि बताए।