Sunday, September 27, 2026
Home ताजा अपडेट सभापति देउवाले भने सरकारबाट नागरिक आजित भइसके, अब पत्रकार जाग्ने बेला आयो

सभापति देउवाले भने सरकारबाट नागरिक आजित भइसके, अब पत्रकार जाग्ने बेला आयो

86

बैशाख ५,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको कम्युनिष्ट सरकारबाट नागरिक आजित भइसकेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई कैलालीको धनगढीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । सभापति देउवाले भने, ‘दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि नागरिकले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्कको उपहार पाएका छन् । कम्युनिष्ट पार्टीका नेताहरु झुटा आश्वासन दिएर मात्रै भोट माग्छन् । नागरिकको मर्मअनुसार काम गर्ने एक्लो पार्टी काँग्रेस मात्रै हो ।’

यस्तै, उनले प्रेस स्वतन्त्रता हनन् गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको आरोप लगाए । ‘सरकारले पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप गरिरहेको छ । पत्रकार सरकारको शत्रु होइन । सहयोगी हो,’ सभापति देउवाले भने,‘सरकारले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम गरिरहेको छ । अब पत्रकार साथीहरु पनि सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको छ ।’

पत्रकारले गलत समाचार लेखेमा कानुनी बाटो अदालती प्रक्रिया भएको भन्दै प्रहरी लगाएर पक्राउ गर्न लगाउनुले सरकार प्रेसलाई दमन गर्न खोज्दैछ भन्ने कुरा स्पष्ट भएको उनले बताए । ‘भ्रष्ट कम्युनिष्ट नेताहरु देशको विकास चाहँदैनन् । त्यसैले भ्रष्टाचार विरुद्ध समाचार लेख्ने पत्रकारका कलम बन्द गराउने प्रयत्नमा सरकार लागि रहेको छ । सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्ने होइन । सरकारविरुद्ध सशक्त भएर लाग्ने बेला आएको छ,’ सभापति देउवाले भने ।

उक्त कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक, सुदूरपश्चिमका ९ वटै जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्यहरु, भ्रातृ संगठनका कार्यकर्तालगायतको सहभागिता रहेको थियो । Ratopati