संवैधानिक परिषदको निर्णय फिर्ता गर्न काँग्रेसको माग

80

माघ १४,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गत माघ ६ गते बसेको संवैधानिक परिषदको निर्णय फिर्ता गर्न संसदीय सुनुवाई विशेष समितिसँग माग गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबाट समितिका प्रतिनिधित्व गर्ने ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुसालले प्रमुख प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा बसेको बैठकको निर्णय मान्य नहुने अडान लिँदै संवैधानिक परिषदमै सो निर्णय फिर्ता गराउन माग गरेका हुन् ।

माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतका पाँचवटा संवैधानिक आयोगको अध्यक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय संविधान र कानुन विपरित रहेकाले समितिले संवैधानिक परिषदमै फिर्ता गर्नुपर्ने काँग्रेसको तर्क छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्ष दलको नेतालाई सूचनानै नदिई संवैधानिक परिषदले गरेको सो निर्णय मान्य नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे । उनले संवैधानिक परिषदको सो निर्णय संविधान, ऐन, कानुनी प्रक्रिया र पद्धतिको ठाडै उलंघन हुनेगरी आएकाले संसदीय सुनुवाई विशेष समितिमा आएको सो सिफारिसमाथि सुनुवाई गर्न नहुने अडान पनि राखे ।