माघ १४,काठमाडौंः
नेपाल र युएईका बीचमा भइरहेको तेस्रो एकदिवसीय खेलमा युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको छ। पुरै ५० ओभर खेलेर ६ विकेट गुमाउँदै युएईले नेपालका विरुद्ध २५४ रन जोडेको हो।
नेपालका लागि करण केसीले दुई विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।
पहिलो विकेटको रुपमा अस्फाक अहमद शून्यमै आउट भएका थिए, उनी सोमपाल कामीको बलमा आउट भए । २.५ ओभरमा विना रन विकेट पतन भएपछि युएई सुरुमै दबाबमा आएको थियो । ५.६ ओभरमा नेपालले दोस्रो विकेट लिएको थियो । त्यतिबेला अर्का ओपनर चिराग सुरी पनि शून्य रनमै आउट भएका थिए ।
तेस्रो विकेटका लागि घुलाम शब्बेर र मोहम्मद उस्मानले ४७ रनको साझेदारी गरे । १९.४ ओभरमा घुलाम १८ रनमा आउट भए । २०.२ ओभरमा मोहम्मद उस्मान २६ रनमा आउट हुदा युएईको ४७ रनमात्रै थियो । तर युएईका लागि शैमन अनवरले इनिङ उकासे ।