४० लाख भुक्तानी लिन गएका ठेकेदार बेपत्ता

81

पुस २४,
सुनसरी । धरानका एक निर्माण व्यवसायी अनुज भट्टराई सोमबार बिहानदेखि बेपत्ता हुनुभएको छ ।
बिहान ८ बजे विराटनगर जान्छु भनेर हिँडनुभएका उहाँ हालसम्म नफर्किएको परिवारले जनाएको छ । विराटनगर सडक डिभिजन कार्यालयमा भुक्तानी लिन भनेर उहाँ घरबाट जानुभएको थियो । भट्टराई २४ घण्टा बितिसक्दा पनि सम्पर्कमा नआएपछि अपहरण भएको आशङ्का परिवारजनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बुबा रमेश भट्टराईले जानकारी दिनुभयो । परिवारले ९ बजेतिर फोन गर्दा फोन सम्पर्क भएको थिएन । बाह्र बजेतिर छोराको मोबाइलबाट ‘अनुज मसँग छ, पछि कल गरौला बाई’ भनेर म्यासेज आएको बुबा रमेशले बताउनुभयो । उहाँले धरान–भेडेटार सडकखण्डमा पर्ने निसाने पहिरोको मर्मत ठेक्का लिनुभएको थियो । सडक डिभिजन कार्यालय विराटनगरमा ४० लाखको भुक्तानी लिन जानुभएको थियो । उहाँ सोमबार कार्यालयमा नआएको सडक डिभिजन कार्यालयले जनाएको छ । प्रहरीले मोबाइल ट्रेस गर्दा पूर्वतिर लागेर काँकडभिट्टासम्म मोबाइल टावर देखिएको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारीअनुसार बिहान ८ः३० बजे भानुचौकमा हिँड्दै गरेको अवस्थामा सिसी क्यामेराको फुटेजमा देखाएको बताइएको छ । रासस