सभापति देउवाद्वारा दुःख व्यक्त

106

काठमाडौँ, २४ पुस नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ काङ्ग्रेसका पुराना नेता तारा कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले अत्यन्त स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।

लमजुङका पुराना व्यक्तित्व ७५ वर्षीय कोइरालाको आज बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको काङ्ग्रेसले जनाएको छ । स्वर्गीय कोइराला विसं २०१७ पछि काङ्ग्रेस जिल्ला कार्यसमिति, लमजुङको संस्थापक सभापति हुनुहुन्थ्यो ।

विसं २०३६ मा जननायक बिपी कोइराला स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बिपीलाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागि तारा कोइराला गम्भीर घाइते हुनुभएको थियो । उक्त गोली काण्डबाट उहाँको एउटा खुट्टा काट्नु परेको थियो ।

स्व कोइरालाले नेपाल विद्यार्थी सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपाङ्ग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिको समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

नेपालमा लोकतन्त्र बहालीको सङ्घर्षका क्रममा कोइरालाले करीब दुई वर्ष जेल जीवन समेत व्यतित गर्नुभएको थियो । सभापति देउवाले स्व कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदान नेपाली काङ्ग्रेसको इतिहासमा सदैव स्मरणीय रहिरहने बताउनुभएको छ ।

“उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ, पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु साथै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु” विज्ञप्तिमा उल्लेख छ । –रासस