घरबास सञ्चालनका लागि कस्सिए स्थानीयवासी

166

पुस १६,
तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा घरबास सञ्चालनका लागि स्थानीयवासी जुटेका छन् । घरबासमार्फत् ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँका स्थानीय घरबास सञ्चालनका लागि जुटेका हुन् । यस ठाउँका १० घरमा फागुनभित्र घरबास सञ्चालन गर्ने लक्ष्य राखिएको स्थानीय शिवकुमार आलेले जानकारी दिनुभयो । घरबास सञ्चालनका लागि नगरपालिकाले स्थानीयवासीलाई तालीमको आयोजना समेत गरेको छ । आइतबारबाट शुरु भएको घरबास व्यवस्थापन तालीम पुस २९ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौंस्थित एपेक्स म्यानेजमेन्ट कन्सल्टेन्सीको सहकार्यमा शुरु भएको तालीममा स्थानीयवासीलाई खानाको परिकार बनाउने तरिका, बोलीचालीका भाषा, संस्कृति, सरसफाइ र घर व्यवस्थापनको बारेमा जानकारी दिइने प्रशिक्षक घनश्याम गिरीले जानकारी दिनुभयो । तालीममा ३० जना स्थानीयको सहभागिता रहेको छ । यहाँका १० घरका २० कोठामा घरबास सञ्चालनको तयारी थालिएको छ । -रासस