पुस १२,
भक्तपुर । विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा न्यू डायमण्ड र थ्रीस्टारले एजे कपको उपाधि कब्जा गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति (एजे) स्कूलले आयोजना गरेको विद्यालयस्तरीय पाँचौं एजे कप भलिबल प्रतियोगिताको बिहीबार भएको फाइलन खेलमा छात्रातर्फ न्यू डायमण्ड र थ्रीस्टारबीचको खेलमा न्यू डायमण्डले जीत हासिल गरेको हो । छात्रातर्फको उपाधि हासिल गर्नका लागि न्यू डायमण्डले थ्रीस्टारलाई २५–१२, २१–२५, २५–२२ र २५–१०को अंकले पछाडि पारेको थियो । त्यस्तै छात्रतर्फको फाइनलमा आयोजक एजे स्कुल र थ्रीस्टारबीच भएको खेलमा थ्रीस्टारले जीत हासिल गरेको थियो । खेलमा एजेविरुद्ध थ्रीस्टारले क्रमशः २५–१८, १९–२५, १९–२५ र १२–२५ को अंक हासिल गरेको थियो ।
तेस्रोस्थानको लागि छात्रास्पर्धामा पारामाउण्ट र ख्वप कलेजबीचको खेलमा पारामाउण्टले ख्वपलाई र छात्रतर्फको स्पर्धामा गीताञ्जलि र पद्मबीचको खेलमा गीताञ्जलिले पद्मलाई सोझो सेटमा हराएको थियो ।
प्रतियोगिता संयोजक भलिबल खेलका राष्ट्रिय खेलाडी एवं रेफ्री रुकेश शाहीले प्रतियोगितामा काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेका विद्यालयहरुसहित २० विद्यालयले सहभागिता जनाएको सो स्पर्धामा छात्रतर्फ १६ र छात्रातर्फ १७ टीमको रहमागिता रहेको बताए ।
सरकारले भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरिसकेपछि सो खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउनका लागि गरिएको उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले प्रदान गरे ।
विजयी टीमले नगद रु. पन्ध्रहजार, द्धितीय हुने टीमले १० हजार र तृतीय हुने टीमले ५ हजार पाएका छन् । सोही अवसरमा थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन प्रतियोगिताका स्वर्णपदक विजेता महेश्वर मर्हजनलाई सम्मान गरिएको थियो ।
स्पर्धाअन्तर्गत छात्रातर्फ उत्कृष्ट सर्भरमा पारामाउण्टका सोनी श्रेष्ठ, उत्कृष्ट सेटरमा न्यू डायमण्डका सजिना श्रेष्ठ, उत्कृष्ट स्पाइकरमा थ्रीस्टारका उषा सेर्पाली र छात्रतर्फ उत्कृष्ट सर्भरमा धन सेर्पाली, उत्कृष्ट सेटरमा थकबहादुर गुरुङ र उत्कृष्ट स्पाइकरमा विशाल गुरुङ घोषित भएका थिए ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल सीप प्रदर्शन गरेकामध्ये छात्रातर्फ न्यू डायमण्डका बाल्मिका आचार्र्य र छात्रतर्फ विशाल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
कार्यक्रममा भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतम लासिवा, संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाश्रेष्ठ, जिल्ला भलिबल संघ भक्तपुरका अध्यक्ष विनोदचरण राय, सूर्यविनायक नगरपालिका वडा नंं ६ का वडाध्यक्ष रामेश्वर ध्वँजू, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिएका थिए ।