नियमविपरीत १६ जिल्लामा कामु सिडिओ

६ महिनाभन्दा बढी समय कामुमा खटाउन नपाइने तथा ६ महिनापछि स्वतः निमित्त हुने प्रावधानविपरीत कामु सिडिओ

75

नयाँ पत्रिका दैनिक मंसिर १६,
काठमाडौं । निजामती सेवा ऐनको व्यवस्थाविपरीत सरकारले १६ जिल्लामा ६ महिनाभन्दा बढी समयदेखि कायममुकायम प्रमुख जिल्ला आधिकारी ९सिडिओ० खटाएको छ । सहसचिवको दरबन्दी भएका जिल्लाहरूमा ६ महिनाभन्दा लामो समयदेखि उपसचिवहरूले कामु सिडिओका रूपमा काम गर्दै आएका हुन् । निजामती ऐनमा कुनै पनि कर्मचारीलाई ६ महिनाभन्दा बढी कायममुकायम बनाएर खटाउन नपाइने प्रावधान छ । इलाम, उदयपुर, सिन्धुली, सप्तरी, सिरहा, महोत्तरी, बारा, सिन्धुपाल्चोक, तनहुँ, बाग्लुङ, स्याङ्जा, गुल्मी, नवलपरासी, नवलपरासी ९पूर्व०, बर्दिया र डोटीमा ६ महिनाभन्दा लामो समयदेखि कामु सिडिओ छन् ।

सहसचिव अभाव भएकाले धेरै जिल्लामा उपसचिवलाई कामुको जिम्मेवारी दिएर खटाउनुपरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘सहसचिवको अभाव भएकाले कामु सिडिओहरूलाई नै निरन्तरता दिइएको हो,’ उनले भने, ‘यसका लागि विगतको नजिरका आधारमा सरकारले सहसचिव उपलब्ध नभएसम्म उनीहरूलाई अधिकार दिएको छ ।’ लोकसेवा आयोगले सहसचिवको नयाँ विज्ञापन नखुलाएको र धेरै सहसचिवलाई प्रदेशमा खटाइएकाले पनि उपसचिवलाई कामु दिएर खटाउनुपरेको गृहका अधिकारी बताउँछन् । विगतमा पनि गृहले उपसचिवलाई कामु सिडिओका रूपमा खटाउने गरेको थियो । तर, ६ महिनासम्म मात्र कामुमा खटाउने गरिएकोमा यसपटक बढी समयसम्म निरन्तरता दिइएको छ ।