आम्दानीको स्रोत जडीबुटी

353

मंसिर १४,
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाडीका बाटुदेवी साउद गाउँमा रहेको जडीबुटी प्रशोधन केन्द्रमा अपरेटरको काम गर्नुहुन्छ । गाउँमै जडीबुटी प्रशोधन केन्द्र स्थापना भएपछि विगत दुई वर्षदेखि त्यहाँ काम गर्दै आउनुभएकी साउदले परिवारको खर्चसमेत उही कामबाट टरेको छ । उहाँ अपरेटर मात्रै नभएर केही वर्षयता जडीबुटी खेती गर्दै आउनुभएकी किसानसमेत हुन् । थोरै जमीनमा पनि राम्रो आम्दानी हुने गरेकाले पछिल्लो समय गाउँमा जडीबुटी खेतीतर्फ किसानको आकर्षण बढेको उहाँको भनाइ छ । “एउटा सिजनको खेतीबाट रु ५० देखि ६० हजार आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “अन्नबालीभन्दा यसबाट बढी फाइदा पुग्न थालेपछि किसानको आकर्षण बढ्दैछ ।”

जडीबुटीको तेल प्रतिलिटर रु तीन हजारदेखि ५५ हजारसम्ममा बिक्री हुने गरेको साउदको भनाइ छ । बेल्डाँडीका किसान पछिल्ला वर्षमा अन्नबाली छाडेर जडीबुटीखेतीमा आकर्षित हुन थालेका छन् । मेन्था, लेमनग्रास, क्यामामाइल, असारे, लिपटिस, कडिपत्तालगायतका जडीबुटीखेती गर्दै आएका छन् । प्रशोधन गरेको मेन्थाको तेल प्रतिलिटर रु ४० हजार, क्यामामाइलको तेल प्रतिलिटर रु ५५ हजार, कडिपत्ताको प्रतिलिटर रु तीन हजारसम्म बिक्री हुने किसानको भनाइ छ । गहुँबाली भित्र्याएपछि खाली रहेको खेतमा जडीबुटीखेती गर्छन् । किसानले मेन्था प्रतिकठ्ठा चार किलो र म्यामाइल पाँच कठ्ठामा एक किलो उत्पादन गर्ने गरेको बताउँछन् । उत्पादन भएको तेल खरीद गर्न नेपालगञ्ज, सुर्खेतबाट व्यापारी गाउँमै पुग्ने गरेका छन् । जडीबुटीबाट उत्पादित तेल औषधि बनाउन बढी प्रयोग हुन्छ । -रासस