फुटबलले जगाएको आशा

81

वैशाख ११,
बागलुङ । एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो– स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो– युवा तथा खेलकूद विकास समितिद्वारा आयोजित फुटबल प्रतियोगिता । ‘मेयरकप’ हालसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता थियो जसका विजेताले नगद रु दुई लाख २२ हजार २०२ हात पारे । अन्य दुई प्रतियोगिताको पुरस्कार भने नगद रु एक–एक लाखको थियो । उल्लेखित विवरणले जिल्लामा फुटबलको बढ्दो विकासक्रमलाई चित्रित गर्छ । बागलुङको झण्डै ४४ वर्ष लामो फुटबल इतिहासको जगमा आजको स्थिति निर्माण भएको हो । यसलाई खेल क्षेत्रका पदाधिकारीले सुखद मात्र मानेका छैनन् फुटबलको भविष्य सुन्दर बन्नेमा दृढ छन् । लगानी, पूर्वाधार र जनशक्ति अभाव भएपनि फुटबलले गरेको गतिप्रति सन्तुष्ट हुनुहुन्छ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङ । उन्ले भने, “बागलुङमा फुटबलको राम्रो सम्भावना छ ।” अध्यक्ष गुरुङले व्यवस्थित फुटबल मैदानलगायतका खेल पूर्वाधारको भने खाँचो रहेको बताउनुभयो । खेलको विकास स्थानीय सरकारको पनि दायित्वमा पर्ने हुँदा खेल क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । सदरमुकाममा रहेको बाङ्गेचौर खेल मैदानबाहेक अन्य ठाउँमा रहेका फुटबल मैदान मापदण्डमा छैनन् । बागलुङ नगरपालिका–१० भकुण्डे, तमानखोला गाउँपालिका–४ र गलकोट नगरपालिका–११ रिघामा रहेको फुटबल मैदान स्तरोन्नतिको पर्खाइमा छन् ।