मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डसडक दैनिक ७ घण्टा बन्द

249

असोज ३,
बागलुङ । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक सात घण्टा बन्द गर्न थालिएको छ । गत असारदेखि निर्माण कार्य थालेको मध्यपहाडी लोकमार्ग आयोजनाले असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालेपछि यात्रुलाई समस्या परेको छ । सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक सात घण्टा बन्द गर्न थालिएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको छ । सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राति ८ बजेसम्म दुई घण्टा सडक बन्द भइरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ । असोज २० देखि दशैँ शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए । सडक खुला हुँदा सबै प्रकारका सवारी साधन आवतजावत गर्न कुनै समस्या नहुने गरी व्यवस्थापन भइरहेको उनले बताए । असोज ५ देखि हुने नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनका बेला सडक किनारमा राखिएको निर्माण सामग्रीलाईसमेत हटाएर सडक फराकिलो बनाउने काम भएको म्यानेजर भुसालले बताए ।

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म १५ प्रतिशत काम सकिएको छ । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशैँ तिहारपछि कामलाई अझै तीव्र बनाउने बताइएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपको बनाउन मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्षभित्र पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । -Onlinekhaabr

.