विमानस्थल पुनः ठप्प

52

भदौं २१,
पर्वत । झण्डै साढे दुई दशकपछि सञ्चालनमा आएको बलेवा विमानस्थल डेढ महिनादेखि ठप्प भएको छ । गएको चैत ९ गतेदेखि नियमित सञ्चालनमा आएको सो विमानस्थल पाँच महिना पनि नपुग्दै पुनः बन्द भएको हो । डेढ महिनाभन्दा बढीदेखि त्यहाँ कुनै पनि उडान हुन सकिरहेको छैन । बलेवा विमानस्थलमा उडान भर्दै आएका दुईवटै विमान बिग्रिएपछि उडान अवरुद्ध भएको हो । नेपाल एयरलाइन्सको विमान मर्मतमा राखिएको र तारा एयरको विमान हुम्लामा दुर्घटनामा परेपछि विमान अभावका कारण उडान नभरेको विमानस्थलले जनाएको छ । तारा एयरले सूचना नै जारी गरी असार, साउन र भदौमा उडान नहुने जानकारी गराएको थियो । अन्तिम पटक गएको असार २८ मा नेपाल एयरलाइन्सले उडान भरेको थियो । नेपाल वायु सेवा निगम बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलका अनुसार ‘पुराना विमान बिग्रिएका कारण झण्डै डेढ महिनादेखि उडान हुन नसकेको हो । एकातिर यात्रुको अभाव हुने र अर्कोतर्फ पुराना विमान बिग्रिएर मर्मतका लागि राखिएकाले उडान हुन नसकेको हो ।’ अपुग यात्रुको हर्जना बागलुङ नगरपालिकाले व्यहोर्ने सहमति भएपछि गएको चैत ९ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो । नगरपालिकाले अपुग यात्रुको हर्जना तिर्दै आएको भए पनि चालु आर्थिक वर्षदेखि विमान नै आउन छाडेपछि भुक्तानीसमेत रोकेको छ ।

चैतदेखि हालसम्म दुवै कम्पनीले कुल २५ वटा उडान भरेका छन् । नेपाल एयरलाइन्सले १३ र तारा एयरले १२ वटा उडान भरेको म्यानेजर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सको १३ वटा उडानमा अपुग भएका यात्रुको हर्जाना पाँच लाख १४ हजार ४०० र तारा एयरको १२ वटा उडानमा अपुग यात्रुको हर्जाना रु पाँच लाख ६५ हजार गरी कुल रु १० लाख ७९ हजार ४०० नगरपालिकाले तिरेको छ । एकातिर विमानस्थल पनि कालोपत्र नभएको र अर्कोतर्फ मौसमका कारण देखाउँदै उडान नमान्ने गरेको पौडेलले बताउनुभयो ।