तिहार अगावै पटाका भित्रिदै

100

भदौं १९,
वीरगञ्ज । पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ । तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, जानकीटोला, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिमरौनगढ, कचौर्वालगायतका नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । आउँदो कात्तिकमा हुने तिहार पर्वलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेका छन् ।

भारतको रक्सौल आदापुर, सिक्टालगायतका भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौंँसम्म पु¥याएबापत २०० प्रतिशतसम्म लिने गरेको व्यापारीहरु बताउँछन् । नेपाल भारत सीमा क्षेत्रमा रहेको सुरक्षाकर्मीको ध्यान अर्कैतिर गएको मौकाछोपी तथा तिहार अगावै पटाका ल्याउँदा प्रहरीको ध्यान नजाने भएकाले अहिले नै पटाका ल्याउने उपयुक्त समय भएको ती तस्करको भनाइ छ ।