Saturday, October 10, 2026
Home अन्तर्राष्ट्रिय भारतीय दूतावासद्वारा ३० एम्बुलेन्स र ६ बस हस्तान्तरण

भारतीय दूतावासद्वारा ३० एम्बुलेन्स र ६ बस हस्तान्तरण

102

साउन ३०,
काठमाडौं । भारतले नेपालका विभिन्न सामाजिक संघ, संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ। भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दुतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गराएको हो। बुधबार लैनचौरस्थित दुतावासमा आयोजित समारोहमा भारतीय राजदुत मञ्जीवसिंह पुरीले नेपालका विभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरे। समारोहमा भारतीय सेनामा गई वीरगति प्राप्त गरेका तथा अपांग भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो। भारतले भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर यस अघि नै विभिन्न सामाजिक संघ, संस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १ सय ३६ वटा बस उपलब्ध गराइसकेको छ। समारोहमा भारतीय राजदुत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशबासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए। सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ। समारोहमा भारतीय दुतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेको थियो। समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रिय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत गाएका थिए।