दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

88

चैत १४,
सोल -दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो ।
तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो ।

सो सङ्ख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने देखिन्छ । त्यसपछि सो सङ्ख्या घट्न शुरु हुने भएको बताइएको छ । सन् २०१७ मा उक्त उमेर समूहका नागरिकको संख्या सबैभन्दा बढी पुगी त्यसबाट घट्दै जाने देखिएको सो तथ्यांक विभागले जनाएको छ । सन् २०२० बाट वार्षिक रुपमा औषत ३ लाख ३० हजार काम गर्ने जनसङ्ख्या घटदै जाने बताइएको छ । सन् १९५५ बाट १९६३ सम्म जन्मेकाहरु बृद्ध उमेरमा प्रवेश गर्ने भएकोले काम गर्नेहरुको संख्या घट्दै जाने तथ्याङ्क विभागले बताएको छ ।

सो विभागकाअनुसार काम गर्ने उमेर समूहको जनसंख्या सन् २०१७ मा ७३ प्रतिशत थियो भने यो संख्या घटेर सन् २०५६ मा पुग्दा ४९.९ प्रतिशत पुग्ने बताइएको छ । यसैगरी सो जनसंख्या सन् २०६७ मा पुग्दा ४५.४ प्रतिशत पुग्ने छ । यसरी सन् २०६७ मा यो जनसंख्या दक्षिण कोरियाको इतिहासमा नै सबैभन्दा कम हुन जाने कुरा उक्त समाचारमा जनाइएको छ ।-रासस/सिन्ह्वा