साउन २२,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबा बस्ने भनिएको सचिवालय बैठक पार्टी अध्यक्ष प्रचण्ड समयमा काठमाडौं आउन नसकेपछि स्थगित भएको हो । अध्यक्ष प्रचण्ड पर्सा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागि भएपछि समयमै काठमाडौं आउन नसकेका कारण सचिवालय बैठक स्थगित भएको नेकपाका एक नेताले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिवारे छलफल हुने पार्टी बताइएको थियो । बैठकमा भातृ सङ्गठन, मोर्चा, विभाग, प्रदेश, जिल्ला तथा स्थानीय समितिबीच चाँडै एकता टुङ्गो लगाउन छलफल हुने ती नेताले बताए । त्यस्तै प्रधानन्यायाधीश प्रकरण र नेपाली काँग्रेसको आन्दोलन लगायतका विषयमा छलफल हुने बताइएको थियो । केन्द्रीय समितिको मात्र एकीकरण भएको छ र बाँकीको एकीकरण नहुँदा पार्टी क्रियाशील जस्तो नदेखिएको भन्दै यसलाई चाँडै टुङ्गो लगाएर अगाडि बढ्नुपर्ने विषयमा दुवै अध्यक्षले सोमबार मात्र छलफल गरेका थिए ।