साउन १८,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सबै दलको साझा बन्न नसकेको निष्कर्ष निकाल्दै सभामुख महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको हो । मन्त्रीहरुले बोलेपछि प्रश्नोत्तर गर्न पाईने व्यवस्था हुँदाहुँदै सभामुख महराले बिहिबारको प्रतिनिधि सभा बैठकमा आफूहरुलाई बोल्न नदिएको काँग्रेसको आरोप छ । यस सम्बन्धमा सभामुख महरालाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । बिहिबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बोलेपछि काँग्रेस सांसदहरुले मन्त्रीसँग प्रश्न गर्न माग गरेका थिए । तर सभामुख महराले मन्त्रीसँग प्रश्नोत्तर गर्ने छुट्टै व्यवस्था रहेको भन्दै बैठकलाई अघि बढाएपछि काँग्रेसले सो बैठक बहिष्कार गरेको थियो । सभामुखको सो भूमिकाप्रति काँग्रेसको असन्तुष्टि छ । प्रमुख सचेतक खाँडले संघीय संसद नियमावलीको धारा २ सय १९ बमोजिम मन्त्रीसँग प्रश्न गर्ने व्यवस्था भएपनि सभामुखले नदिएको आरोप लगाए । बैठकमा काँग्रेसले विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्तावका विषयमा पनि छलफल गरेको थियो ।