नयाँ पत्रिका दैनिक साउन १७,
काठमाडौं । प्रहरीका अनुसार मकवानपुरकी सरिता विकको जीवन धान्ने आधार नै चोरी बनिसकेको छ । चोरीका लागि आवश्यक सामान सधैँ साथमा लिएर हिँड्ने उनको दैनिकी घर फोरेर धनमाल चोर्ने देखिन्छ ।
चोरी आरोपमा पक्राउ परेकी उनले हालसम्म चितवनमा मात्रै २५ देखि ३० तोला सुन चोरी गरेको स्विकारेकी छिन् । जसमध्ये प्रहरीले पाँच तोला बरामद गरिसकेको छ । प्रहरीसँगको बयानमा उनले चितवनमा चोरी गर्न थालेको केही महिना मात्र भएको बताएकी छिन् । यसअघि काठमाडौं र अन्य सहरमा चोरी गर्ने गरेको उनले बताएकी छिन् ।
चितवनमा चोरीका घटना बढेपछि प्रहरीले अनुसन्धान गर्दा चोरीका मुख्य योजनाकार विक पक्राउ परिन् । एउटै घरबाट ११ तोलासम्म सुन चोरी भएको उजुरी प्रहरीमा परेको थियो । विकको चोरी गतिविधि सुनेर प्रहरी नै छक्क पयो । किनकि, एउटा महिला चोरीका बन्दोबस्ती सामानका साथ व्यस्त सहरमा दिनदहाडै चोरी गर्दै हिँड्नु सामान्य थिएन । अनुसन्धानको क्रममा आरोपित महिलाले चोरी घटनाबारे सप्रसंग व्याख्या गर्न थालेपछि प्रहरीले घटना थप रहस्यमय हुने भन्दै अतिरिक्त सोधखोज गर्न थाल्यो । र, उनीसँग चोरी कार्यमा संलग्न दुईजनाको पनि पहिचान गरी अनुसन्धान भइरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए ।
अनुसन्धानपछि चोरी मुद्दा
आरोपित महिलालाई प्रहरीले सुरुमा सार्वजनिक मुद्दा चलाएको थियो । तर, केही दिनअघि उनले चोरी गरेर बेचेको पाँच तोला सुन काठमाडौंबाट बरामद भएपछि प्रहरीले चोरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा १७ वटा चोरीका घटना भएका छन् । आर्थिक वर्ष ०७३/७४ मा चोरीका २० घटना भएका थिए ।