खाली हुँदै निर्मल निवास, थाइल्यान्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र

110

समाचारपत्र दैनिक साउन १५,
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने हुनुभएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लाग्नुभएको हो । दुई वर्षअघि थाइल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न पुग्नुभएकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लाग्नुभएको हो । रविभवनस्थित लिंकन स्कुलमा माध्यमिक शिक्षा सक्नुभएकी कृतिकाले दिदी पूर्णिकासँगै उच्च शिक्षा अध्ययन गर्न चाहेकाले पूर्वराजाा ज्ञानेन्द्रले दुवैलाई एउटै कलेजमा भर्ना गराउन लाग्नुभएको हो ।

अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसक्नुभएको छ । हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुग्नुभएको हो । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने हुनुभएको छ । पछिल्लो समय धर्मकर्ममा लागेका पारस साउनभर विभिन्न शिवमन्दिर दर्शन गर्न व्यस्त देखिनुभएको छ । पारस दर्शनका लागि खप्तड जाने तयारीमा रहनुभएको छ । पारसबाहेकका सपरिवार थाइल्यान्ड जाने भएपछि केही समय निर्मल निवास खाली हुने भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र भदौ २ गते नेपाल फर्कने गरी थाइल्यान्ड जान लाग्नुभएको निर्मल निवास स्रोतले जनाएको छ । भदौ ४ गते आमा रत्नको जन्मोत्सव मनाउने गरी ज्ञानेन्द्र, कोमल र हिमानी नेपाल फर्कन लाग्नुभएको हो । नेपाल फर्केको केही दिनपछि पूर्वराजा ज्ञानेन्द्रको पुनः विदेश यात्रा तय हुने भएको छ । नितान्त व्यक्तिगत भ्रमणमा थाइल्यान्ड जान लाग्नुभएका पूर्वराजा केही राजनीतिक भेटघाट हुन सक्ने सम्भावना रहेको छ ।

नेपालबाट अन्य देशको भ्रमण जाँदा विभिन्न राजनीतिक शंका उब्जने भएकाले अधिकांश समय पूर्वराजा थाइल्यान्ड हुँदै भारतलगायत अन्य मुलुक भ्रमण गर्न थाल्नुभएको छ । थाइल्यान्डमा पूर्वराजाको परिवार फ्ल्याटमा बस्ने हुनुभएको छ ।
उता १६ वर्ष लागेका पारस पुत्र हृदयन्द्रको जन्मोत्सव थाइल्यान्डमै मनाइएको छ । हृदयन्द्र हिजो सोमबारदेखि १६ वर्ष लाग्नुभएको छ । पछिल्लो समय नेपालका विभिन्न स्थानमा भ्रमण गरी नेपाली जनताको मन जित्ने कोसिस गरिरहनुभएका पूर्वराजाको अबको भ्रमण विदेशको हुने भएको छ । पछिल्लो समय देश दौहाडमा लागेका ज्ञानेन्द्रले आफू निकटका दललाई एकीकृत बनाउने तयारीमा रहनुभएका उहाँ पछिल्लो समय भारतको साथ लिएर अघि बढ्ने तयारी गरिरहनुभएको छ ।