जनप्रतिनिधिसँगै नागरिक पनि जवाफदेही हुनुपर्छ ः मेयर थापा

294

-राजेश खड्का
साउन ९,
भक्तपुर । विकास र समृद्धिका लागि कानुनी राज्य हुनुपर्ने भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले बताए । स्थानीय तहको चुनाव अगाडि आफूले गरेका सबै वाचा पूरा गर्न कानुनसँगसँगै नागरिकले नीति नियम पालना गर्नु पर्नेमा उनले जोड दिए । मानव अधिकार सञ्चार प्रतिष्ठान, इह्रिकनले गरेको स्थानीय सरोकारवालबिच समन्वय बैठकमा नगरप्रमुख थापाले सूर्यविनायकका बासिन्दालाई समृद्ध बनाउनका लागि आफू र आफ्नो नेतृत्व प्रतिबद्ध रहेको बताए । यो अभियानलाई सफल बनाउनका लागि नागरिकले गफ गर्ने भन्दा पनि खबरदारीसँगै सहयोगीको भूमिका निभाउनु पर्ने बताए । यस्तै आफ्नो ठाउँको विकासका लागि नागरिक पनि जवाफदेही हुनु पर्ने उनले बताए । सूर्यविनायक नगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधि र कर्मचारी गरी ५४ जना कार्यरत रहेको र सबै नगरको विकासका लागि प्रतिबद्ध रहेको प्रमुख थापाको भनाई छ । आफूहरु सबैकाम समयमै गर्न लागि परेको उनले बताएका छन् ।
कार्यक्रममा गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकी, जेष्ठ नागरिक, अग्रज समाज नेपालका प्रतिनिधि, निजी विद्यालय संगठन प्याब्सन भक्तपुरका अध्यक्ष श्री कृष्ण केसी, नगपालिकाका विभिन्न शाखाका कर्मचारी तथा पत्रकारहरुले स्थानीय सरकार सुशासन र पारदर्शिता प्रवद्र्धनमा प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।