Monday, September 28, 2026
Home राजनीति वीपी र नेपाली राजनीति

वीपी र नेपाली राजनीति

109

साउन ६,
विश्वेश्वरप्रसाद कोइराला नेपालका भूतपूर्व प्रधानमन्त्रीभन्दा, नेपाली कांग्रेसको स्थापना गरी जनक्रान्तिबाट मुलुकमा जहानियाँ राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्ने एक क्रान्तिकारी नेताभन्दा पनि बढी नेपाली समाजलाई नयाँ बाटोमा डोहोर्‍याउने एउटा सामाजिक रूपान्तरणका अभियन्ताको रूपमा परिचित हुुनुहुन्छ( नेपाली माटोमा अनि विश्व प्रजातान्त्रिक मंमा समेत। जुन दिनदेखि उहाँ नेपाल र नेपाली समाजको मानवोचित सकारात्मक रूपान्तरणका लागि राजनीतिलाई माध्यम बनाएर सामाजिक सेवामा होमिनुभयो, त्यसपछि आजसम्म नेपाली राजनीतिको केन्द्रविन्दुमा रहनुभएको छ। भौतिक रूपमा उहाँको अवसान २०३९ साउन ६ गते भएको भए पनि आजसम्म नेपाली राजनीतिको बहसमा उहाँ हुनुहुन्छ र राजनीतिको पक्ष र विपक्षमा उहाँकै नीतिको चर्चा भएको छ। यो क्रम अझै कति दशकसम्म चलिरहला, अनुमान गर्न पनि गाह्रो छ। यसको खास कारण हो( जीवनपर्यन्त अविचल जनताको पक्षमा लागिरहनु, व्यक्तिको नैसर्गिक जन्मसिद्ध स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा डटेर दृढताका साथ लाग्नु र ती प्रजातान्त्रिक मूल्यले सिञ्चित नागरिकहरूको सचेत समूहबाट समाजको लागि गरिनुपर्ने कर्तव्यप्रतिको चेतना वितरण गर्न सक्ने क्षमताका लागिसमेत लागिरहनु। यसलाई क्रान्तिचेत भन्न मिल्छ क्यार१ क्रान्तिचेतको त्यही एउटा फिलिंगोले मुलुकको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको संवर्द्धन गरिरहन सक्ने क्षमता राख्दोरहेछ। उहाँको समाजवाद नबुझिने शब्दहरूको भण्डार थिएन। सहज अर्थको समाजवाद थियो( सबै नेपालीले खान, लाउन, ओखती गर्न, पढ्न पाऊन् र उनीहरूको मौलिक हकमा कतैबाट पनि अवरोध नआओस्। सानासाना उद्योगधन्धाको विकास गर्दै सम्पूर्ण नेपालीहरू उद्यमी होऊन् र उत्पादन वृद्धि गर्दै आफ्नो खुट्टामा टेकेर विश्व नागरिकको हैसियत प्राप्त गरून्। १५ वर्षभित्रमा कुनै पनि नेपाली खान, लाउन, पढ्न, ओखती गर्न आफैँ सक्षम होस् भन्ने समानतामा आधारित प्रजातन्त्रको अभ्यासमा लाग्ने उहाँको नमुना प्रजातन्त्रको आधारशिला बन्दै थियो। साम्यवादीहरूले भनेको समाजवादभन्दा नितान्त फरक उदार समाजवादको चाहना उहाँको थियो, जहाँ प्रजातन्त्रका सम्पूर्ण तत्त्वहरू विद्यमान हुने थिए। उहाँको विशेषता थियो( जुन कुरामा उहाँको विश्वास हुन्थ्यो, त्यसलाई आफैँले अभ्यास गरेर मात्र अरूलाई त्यसका लागि उत्प्रेरित गर्नुहुन्थ्यो। उदाहरणका लागि राजनीतिमा प्रजातान्त्रिक समाजवाद र व्यक्तिगत रूपमा धर्मनिरपेक्षताको सिद्धान्त। उहाँले न त आफूलाई धार्मिक सापेक्षतामा उभ्याउनुभयो, न त कसैको धार्मिक स्वतन्त्रतामा कुनै नकारात्मक असर पुर्‍याउने अपराध नै गर्नुभयो। जनताको सार्वभौमिकताको सधैँ सम्मान गर्नुभयो बरु त्यस्तो सम्मान गर्नुपर्दा जेलको कालकोठरीमै किन बस्नु नपरोस्। प्रजातन्त्रको विपक्षमा कहिल्यै पनि कुनै सम्झौता गर्नुभएन र त आजसम्म उहाँ नेपाली राजनीतिको मियो नै रहन सक्नुभएको छ। अहिले नेपालको संविधानमा मुलुक समाजवाद उन्मुख भनेर भनेपछि अब सबै नेपालीहरूलाई संसदको दुई तिहाई मतको दम्भले समाजवादी बनाउने बाध्यकारी बहस सुरु भएको छ। नयाँ संविधान बनाउनेहरूमध्येका आफूलाई कम्युनिस्ट भन्नेहरूले समाजवादलाई साम्यवादसम्मको बाटो बनाउने नयाँ गोरेटोमा सबैलाई बाध्यकारी हिँड्नै पर्ने गरी अर्थ्याउन थालेका छन् भने नेपाली कांग्रेसका विचारमा समाजवाद प्रजातन्त्रलाई जनसमक्ष सामाजिक न्याय दिलाउने एउटा सामाजिक प्रक्रिया मात्र हुनसक्ने अनुमान गर्न सकिन्छ। संविधान बनाउँदा प्रस्तावनामा राख्ने बेलामा गरिनुपर्ने बहस र छलफल अहिले आएर हुन थालेको छ। तर समाजवादलाई सहज तरिकाले आफ्नो दल नेपाली कांग्रेसको विधानमा राख्ने काम भने वीपीले २०१२ सालमा नै गर्नुभएको थियो। त्यसलाई सायद भोलिको समयलाई आजै देख्ने राजनेताका रूपमा लिन सकिन्छ होला। उहाँको समाजवादमा प्रजातन्त्र अपरिहार्य तत्त्व थियो र नागरिक सार्वभौमसत्ता सम्पन्न शासनभन्दा सर्वोपरि हुन्थ्यो। २०३९ साउन ६ गते नेपाली राजनीतिका एक अथक प्रजातान्त्रिक योद्धा तथा नेपाली जनताका पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला ६८ वर्षको उमेरमा यस संसारबाट बिदा हुनुभएको थियो। राजनीतिमा सामाजिक प्रजातन्त्रवादी र साहित्यमा प्रयोगवादी मनोविश्लेषक विपी मूलतः समाजको एक प्रगतिशील तथा गतिशील अभियन्ता हुनुहुन्थ्यो। उहाँको विचारमा उहाँलाई एउटा असल नेपाली भनी सम्झिए पुग्नेछ र आफूलाई एउटा सामान्य नेपालीको दर्जा मात्र चाहेको बताएर सामान्यभन्दा पनि सामान्य जनताको नेता हुने सौभाग्य पाउनुभएको छ। लोकतन्त्रप्रतिको अटल विश्वास र जनताको शक्तिप्रतिको अविचल आस्थाले वीपीलाई नेपाली माटोमा अमर बनाएको हो। संसदीय व्यवस्थालाई कसरी नेपाली माटोमा स्थायित्व दिन सकिन्छ भनेर लागिरहेकाले पनि होला, आजको नेपाल उहाँकै सपनाको वरिपरि घुमिरहेको छ। भन्न त रूपमा स्थायी सरकार पाएको छ नेपालले भनिन्छ तर सारमा नेपाल राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा यति धराप मोडमा आफ्नो इतिहासमा कहिल्यै पनि थिएन होला। मुलुकले अहिले सक्षम राजनेताको कमी महसुस गरिरहेको छ। पछिल्लो कालखण्डमा गिरिजाबाबुले समन्वय र राजनीतिक सुझबुझको परिचय दिँदै सशस्त्र हिंसामा व्यस्त तत्कालीन नेकपा माओवादीलाई शान्तिको मूलधारमा ल्याउने कोसिस गर्नुभएको थियो। आजको संविधानसभाबाट प्राप्त संविधानको जस जसले लिन खोजे पनि त्यो संविधानसभाको पहिलो कल्पनाकार वीपी नै हुनुहुन्थ्यो तर नेपाली जनतालाई कुनै पनि प्रकारको असजिलो नहोस् भनी उहाँले २०१५ सालमा राजासँग सम्झौता गरी लोकतान्त्रिक संविधानमा चित्त बुझाउनुभयो र पहिलो आमनिर्वाचन गराउने विषयमा सहमति जनाउनुभयो। त्यो निर्वाचनमा अप्रत्याशित रूपमा नेपाली कांग्रेसले प्रचण्ड बहुमत ल्याएपछि लोकतन्त्रविरोधीहरूले २०१७ पुस १ गतेको तानबाना बुने र मुलुक एकतन्त्रीय निरङ्कुशतामा ३० वर्ष जकडियो। त्यसैबीचमा दुई पटक सशस्त्र संघर्षद्वारा पंचायतलाई चुनौती दिने काम भएको थियो। २०३३ पुस १६ गते वीपी, गणेशमानजीसहित राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल प्रवेश गर्नुभयो। मेलमिलापको राजनीतिक अभियानको त्यो सुरुवात विन्दु थियो। त्यसैले राष्ट्रियतासँगै प्रजातन्त्रको रक्षार्थ मेलमिलापको प्रवर्तकका रूपमा पनि वीपीलाई लिने गरिन्छ र जमेको पोखरीलाई गतिशील बनाई लोकतान्त्रिक राजनीतिक परिवर्तनका लागि बाध्यकारी परिस्थिति त्यसैबेलाबाट बनेको इतिहासले देखाउँछ।