बिहानैबाट नारायणगढ-मुग्लिन सडक बन्द

318

असार २६,
चितवन । आज बिहानैबाट नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो गएर अवरुद्ध भएको छ । बिभिन्न तीन ठाउँमा पहिलो खसेपछि बिहानैबाट सवारी साधन सञ्चालन हुन सकेका छैनन् । स्थानीय प्रशासनले पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास गरेपनि वर्षा जारी रहेकाले कठिन भएको जनाएको छ । गाईघाट, घुमाउने र टोपे खोलामा पहिरो गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार गाईघाटमा मध्यरातमै पहिरो गएको थियो । घुमाउने र टोपे खोलामा बिहान पख पहिरो झरेको हो । गाईघाट र टोपे खोलामा एक तर्फी गाडी चले पनि घुमाउनेमा ठप्प हुँदा सवारी साधन आरपार हुन सकेका छैनन् । पानी परेसँगै मुग्लिन नारायणगढ सडकमा पहिरो खस्ने गरेको छ । सडक दुई लेनको बनाउन पहाड काटेको ठाउँमा वर्षाका बेला पहिरो जाने समस्याले यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् । यो सडकमा दैनिक १० हजारको हाराहारीमा गाडी गुड्छन् ।