Sunday, October 11, 2026
Home समाचार बाढीमा बेपत्ता किशोर मृत फेला

बाढीमा बेपत्ता किशोर मृत फेला

215
सांकेतिक तस्विर

असार १९,
वीरगञ्ज । पर्साको फन्टीखोलामा आएको बाढीले सोमबार बगाएर बेपत्ता बनाएका पर्सागढी नगरपालिकाका सुरेन्द्र महतो मृत अवस्थामा फेला परेका छन्। उनको शव घटनास्थलभन्दा करिब तीन सय मिटर दक्षिणमा फेला परेको हो। वर्वा छटौलीस्थित आधारभूत माविमा कक्षा ९ मा अध्ययनरत महतो विद्यालयबाट घर फर्कने क्रममा पर्सागढी नगरपालिका–४ स्थित फन्टीखोलाको बाढीमा बेपत्ता भएका थिए। सोमबार अबेरसम्म खोजी गर्दा उनको अवस्था पत्ता लगाउने सकिएको थिएन। मंगलबार बिहान स्थानीय र प्रहरीको सहयोगमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। उनीसँगै पर्सामा यो वर्ष पानीको कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। महतोसँगै विद्यालयबाट घर फर्कने क्रममा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमाकुमारी रामलाई पनि फन्टीखोलाले बगाउँदा सोमबार मृत्यु भएको थियो। परीक्षा दिएर घर फर्कने क्रममा नदी तर्दा बाढीले बगाएका संगीता चौरसिया र सुमन पासवानलाई भने स्थानीयले जीवितै उद्धार गरेका थिए।