असार १७,
काठमाडौं । सर्वोच्च अदालतले अन्यत्र परीक्षण नगरिएका खोप तथा औषधि नेपालीहरुमाथि प्रयोग गर्न नदिन सरकारको नाममा आदेश जारी गरेको छ । बझाङका दलबहादुर धामी र अधिवक्ता जितेन्द्रबहादुर मडैले दायर गरेको रिटमा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको ईजलासले निर्देशनात्मक आदेश दिएको हो । स्वास्थ्यजस्तो संवेदनशील विषयमा प्रमाणित भएका र अन्तर्राष्ट्रिय मापदण्ड पुगेका खोपहरु मात्र प्रयोगमा ल्याउनु पर्ने भन्दै सर्वोच्चले परीक्षण नगरिएका औषधिहरुमाथि तत्काल रोक लगाउन आदेश दिएको हो ।
जथाभावी खोप लगाएका कारण मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति दिन र खोपका कारण बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुको नाममा पनि सर्वोच्चले आदेश दिएको छ । दादुरा विरुद्धको खोप लगाउने क्रममा डोटी, काठमाडौं लगायतका स्थानमा चार बालबालिकाको मृत्यु भएपछि क्षतिपूर्ति र परीक्षणका नाममा आउने खोपमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो । सर्वोच्चले दादुराको खोप लगाएर मृत्यु भएका पीडित परिवारलाई समेत दश दश लाख क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।