नेपालमा दैनिक अर्बको सट्टेबाजी

128

नयाँ पत्रिका दैनिक- असार १६

काठमाडौं । रसियामा विश्वकप फुटबल चलिरहेको छ । विश्वभरका दर्शक टेलिभिजनमा खेल हेर्दै मन परेको टिम र खेलाडीलाई समर्थन गरेर रमाइलो लिइरहेका छन् । तर, कतिपयले विश्वकपलाई जुवा खेल्नेरखेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् । नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा सट्टेबाजी धन्दा चलिरहेको छ । सट्टेबाजीको सबैभन्दा ठूलो खाल काठमाडौंमै चलेको प्रहरीले जनाएको छ । यो जुवामा टोलेगुन्डा, क्यासिनो खेलाडीदेखि फुटबलका फ्यानसमेत संलग्न छन् ।

रसिया विश्वकपका खेलअनुसार दैनिक एक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगन्ज, विराटनगरजस्ता सहरमा करोडौँको बाजी लाग्ने गरेको हो । काठमाडौंमा त टोलटोलसम्म सट्टेबाजको जालो पुगेको प्रहरी बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले गल्लीगल्लीमा अहिले सट्टेबाजले बाजी लगाउने गरेको बताए । उनले भने, ‘हाम्रो जानकारीमा आएअनुसार जारी विश्वकप फुटबल खेलमा दैनिक अर्बौँ रुपैयाँको बाजी लाग्ने गरेको देखिन्छ । टोलटोल, गल्लीगल्लीमा अहिले फुटबलकै चर्चा छ । हामीले केही सट्टेबाजलाई निगरानीमा राखेका छौँ । केही सूचना आएका छन् । त्यसमा अनुसन्धान पनि चलिरहेको छ ।’

तीनजना डेढ करोडसहित पक्राउ

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले काठमाडौंबाट आइतबार दिक्पालजंग थापा, अमित महत र धर्म महर्जनलाई रंगेहात पक्राउ गयो । प्रहरीका अनुसार उनीहरूले एउटै खेलमा बाजी लगाउन एक करोड ५५ लाख रुपैयाँ संकलन गरेका थिए । आइतबार राति इंग्ल्यान्ड र पानामाबीचको खेलका लागि उनीहरूले बाजी लगाएका थिए ।महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूले उक्त रकम आफ्नै ‘सर्कल’का साथीहरूबाट संकलन गरेका थिए । उनले भने, ‘उनीहरूले विश्वकप फुटबलमा बाजी लगाएको भेटियो । प्रमाणसहित उनीहरूलाई हामीले पक्राउ गयौँ ।’

बाजी लगाउने टोलेगुन्डा पनि पक्राउ

विश्वकप फुटबलका खेलमा बाजी खेलाएकै अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । शुक्रबार कालीमाटीबाट पक्राउ परेका उनी ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन् ।