राष्ट्रपति लाई आर्थिक अनुशासनहिनता बढ्दै गएकोमा चिन्ता

133

असार १५,
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकमा आर्थिक अनुशासनहिनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहिनतालाई अन्त्य गर्न सरकार र संघीय संसदको पनि गम्भिर ध्यानाकर्षण गराइन् । शुक्रबार काठमाडौंमा आयोजित महालेखा परीक्षकको कार्यालयको हीरक जयन्ती समारोहमा बोल्दै उनले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा औंल्याइएको टिप्पणी सम्बोधन गर्न सरकार र संघीय संसदले ढिलाई गर्न नहुनेमा पनि जोड दिइन् ।उनले आर्थिक अनुशासनमा हुने ह्रासले मुलुकलाई समृद्ध बनाउने अभियानमा ह्रास ल्याउने कुरालाई ध्यानमा राखेर त्यसलाई सम्बोधन गर्न सरकार गम्भिर हुने विश्वास पनि व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले जनताको चाहना अनुसार लेखा परीक्षणको कार्यलाई अझै प्रभावकारी र परिणाममुखि बनाउन महालेखा परीक्षकको कार्यालय सबल र सक्षम हुँदै जाने विश्वास पनि व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले सार्वजनिक आर्थिक क्रियाकलापलाई पारदर्शी र जवाफदेही बनाउन महालेखा परीक्षकको कार्यालयको महत्वपूर्ण भूमिका हुने पनि स्मरण गराइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले उत्कृष्ट कार्य सम्पादन गरेका महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरुलाई सम्मान पनि गरेकी थिइन् ।