भक्तपुरका छ महिनामा १३ जना बलात्कृत

209

असार १३,
भक्तपुर । भक्तपुरमा विगत ६ महिनामा १३ जना बालिका तथा किशोरी बलात्कारका घट्नाबाट पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा ईन्सेक भक्तपुर प्रतिनिधी सविना केसीले घट्नाको सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका २४ वटा घटना घटेको बताउनुभएको हो ।
जसअनुसार तीन जनाको हत्या भएको, एक जनाको हत्या प्रयास भएका, बालिका, किशोरी र महिला गरि १३ जना बलात्कारबाट पीडित भएको, दुईजना महिला बलात्कार प्रयासका घट्नाबाट पीडित भएको र पाँच महिला बहुबिवाहबाट पीडित भएको बताउनुभयो ।
गतवर्ष भने यो अबधीमा पाँच जनाको हत्या भएको, चार जनालाई बलात्कार भएको, चारजना बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटना भएको, दुई जनाले बहुविबाह गरेको र दुई जना मानवबेचबिखन घटनाहरु भएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले मानिसहरुमा सचेतना बढेकाले कुनै पनि घट्नाको उजुरी दिने प्रचलन भएकाले घट्नाको संख्या बढेको बताउनुभयो । घटना बढेसंगै प्रहरी पनि चनाखो भएको बताउँदै उहाँले प्रहरीले दोषीलाई उम्कने ठाउँ नदिने उहाँको भनाई थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) ले कानूनले महिला मैत्री कानून बनाउँदा पुरुष पीडित बन्दै गएको बताउँदै सहमति मै यौन सम्बन्ध राख्ने तर पछि लेनदेनमा कुरा नमिले पछि बलात्कारमा उजुरी दिने बढ्दो प्रबृत्तिलाई रोक्नु पर्नेमा जोड दिनुभयो । त्यसअवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, लोकतान्त्रिक छापा माध्यमका अध्यक्ष पेशल आचार्य, पत्रकार लीला श्रेष्ठ लगायतले अपराधिक घट्ना बढ्नु चिन्ताको विषय भएको चर्चा गर्दै यसलाई रोक्न प्रहरी र पत्रकार बिच पनि समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति मानव अधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्यालले मानव अधिकार उलंघनका घट्ना रोक्न सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।