असार ८,
ओखलढुंगा । ओखलढुंगाको रुम्जाटार विमानस्थल लामो समयदेखि बन्द छ। जिल्लालाई सडक संजालले छोएसँगै विमानस्थल बन्द भएको हो। विगत डेढ वर्षदेखि सबै विमान कम्पनीले उडान रद्द गरेपछि विमानस्थल बन्द भएको हो। ओखलढुंगा सडक सञ्जालमा जोडिएपछि यात्रुले उडानभन्दा सडक यात्रा रोजेपछि विमान रुम्जाटार जान छोडेका हुन्। चार दशकसम्म कच्ची धवनमार्गबाटै नियमित उडान अवतरण हुँदै आएको विमानस्थलमा कालोपत्रे गरिए पनि त्यसको कुनै प्रभाव पर्न सकेन। नियमित रूपमा नेपाल र तारा एयरलाइन्सले उडान भर्दै आएको विमानस्थल कलोपत्रे भएपछि भने छिटपुट रूपमा सञ्चालनमा रहेको थियो। विमानस्थल बन्द हुँदा आकस्मिक बिरामीहरुलाई समेत समयमा उपचारका लागि बाहिर लान समस्या भएको स्थानीयको गुनासो छ। केही वर्ष अघिसम्म यस रुम्जाटार विमानस्थलमा टिकट पाउनै मुस्किल पर्थ्यो। तर पछिल्लो समय यात्रु अभावकै कारण उडान रद्ध गर्नु परेको विमान कम्पनीहरूले बताउने गरेका छन्। नेपाल उड्डयन प्राधिकरणले नियमित यात्रु अभावकै कारण उडान रद्द गरेको जानकारी आएको रुम्जाटार विमानस्थलका कार्यालय प्रमुख प्रकाश शर्माको भनाइ छ। शर्माका अनुसार ०७३ को कात्तिकपछि आकस्मिक अवतरण र सिजनमा मात्रै रुम्जाटार विमानस्थलको प्रयोग हुने गरेको छ। पछिल्लो समय मध्यपहाडी राजमार्गअन्तर्गत घुर्मी(खुर्कोट सडक खण्ड सञ्चालनमा आएसँगै यात्रुहरू बढी मात्रामा सडक मार्ग प्रयोग गर्ने गर्दै आएका छन्।