लागू औंषध दुरुपयोग ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान शुभारम्भ

180

असार ६,
काठमाडौं । सरकारले लागू औंषध दुरुपयोग एवम्ओ सारपसारविरुद्ध सप्ताहव्यापी अभियान शुभारम्भ गरेको छ। लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर सरकारले लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको सप्ताहव्यापी अभियान बुधबारबाट सुशारम्भ गरेको हो। गृह मन्त्रालयमा एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्दै गृहसचिव प्रेमकुमार राईले लागू औषधलाई निषेध गर्ने नीति अनुसार सरकारले सो अभियान संचालन गरेको स्पष्ट पारे। उनले लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अभियानमा साथ दिन पनि सबैलाई आह्वान गरे। सरकारले मुलुकको समृद्धिको बाधकको रुपमा रहेको निष्कर्ष निकाल्दै लागू औषध विरुद्धको अभियानलाई संचालन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि विशेष व्यवस्था गरेको छ। गृह सचिव राईले लागू औषधलाई निषेध र मदिरालाई नियन्त्रण गर्दैै लैजाने सरकारको नीति रहेको पनि बताए। उनले लागू औषध ओसारपसार गर्नेमाथि कडा कार्वाही हुने चेतावनी पनि दिए। गृह सचिव राईले सरकारले सुशासन र विकासको नारालाई सार्थक तुल्याउन पनि लागू औषधबाट हुने गैरकानुनी आर्थिक क्रियाकलापलाई निष्तेज पार्ने अभियानलाई निरन्तरता दिएको पनि स्मरण गराए। यस वर्ष सरकारले स्वस्थ, सवल र समृद्ध नेपाल निर्माणका लागि लागू औषध विरुद्धको अभियानमा सहभागी हुनुपर्ने नारा समेत तय गरेको छ। यही असार १२ गते लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विश्वभर मनाईदैछ। यसै अवसरमा सरकारले पनि सचेतना अभियानसहित लागू औंषध नियन्त्रणसम्बन्धि सप्ताहव्यापी कार्यक्रमको सुशारम्भ गरेको हो। नेपालमा हाल १ लाख ५० हजार भन्दाबढि लागू औषध प्रयोगकर्ताहरु रहेको अनुमान गरिएको छ।