मेस्सीका फ्यानलाई यो सुनेपछि लाग्न सक्छ दुःख

131

जेठ २८,
एजेन्सी । लियोनेल मेस्सीले विश्वकपपछि अर्जेन्टिनाका लागि आफूले खेल्ने वा नखेल्ने यकिन नभएको बताएका छन् । ३० वर्षीय खेलाडी यसअघि सन् २०१६ मा पनि छोटो समयका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट टाढा भएका थिए । सन् २००५ मा अर्जेन्टिनाका लागि पहिलो पटक प्रतिनिधित्व गरेका उनले यसपटक सदाका लागि राष्ट्रिय टोलीबाट सन्यास लिने मनस्थिति बनाएका हुन् ।

क्लब फुटबलमा निकै सफल मेस्सीको राष्ट्रिय टोलीमा सफलता भने उपाधि नजिक पुगेर ‘मिस’ मा सिमित बनेको छ । सन् २०१४ को विश्वकपको फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित हुन पुगेको थियो भने कोपा अमेरिकामा लगातार दुई फाइनलमा पराजित हुन परेको थियो । जसपछि उनले खेलबाट सन्यासको घोषणा गरेका थिए । तर, पछि फेरि उनी राष्ट्रिय टोलीमा फिर्ता भएका थिए । चार वर्षअघि विश्वकपमा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित मेस्सी आफ्नो देशको मिडियाले अर्जेन्टिनाको राष्ट्रिय टोलीले हासिल गरेको उपलब्धिको अवमूल्यन गरेको बताउँछन् र रसियाको यात्रा राष्ट्रिय टोलीसँग उनको अन्तिम यात्रा हुनसक्ने बताउँछन् ।‘मलाई थाहा छैन । यो प्रतियोगिताको अन्त्य कसरी हुन्छ, त्यसैमा भरपर्छ,’ स्पोर्टसँग कुरा गर्दै स्टार खेलाडीले भने ।

‘हामीले तीनवटा फाइनल हारेपछि फाइनलसम्म पुग्ने विषयमा अर्जेन्टिनी प्रेससँग केही असहज स्थिति पैदा भयो,’ उनले भने, ‘यो सहज कुरा होइन र तीनपटक फाइनल पुगेको कुरालाई पनि तारिफ गरिनुपर्छ । त्यसलाई जित्नु महत्वपूर्ण हो तर त्यहाँ पुग्न पनि सजिलो छैन भन्ने बुझ्नुपर्छ ।’ नकआउट चरण पुगेपछि अर्जेन्टिनाले ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स जस्ता टोलीको कडा चुनौती सामना गर्नुपर्ने अपेक्षा गर्छन् मेस्सी । यद्यपि, उनी आफ्नो टोली कसैसँग भयभित नभएको पनि बताउँछन् । ‘हामीसँग निकै राम्रा खेलाडीहरु छन् । हामी कसैको डाहा गर्नुपर्ने स्थिति पनि छैन,’ उनले थपे ।