नेपाल प्रहरीमा चारजना मात्रै एआइजी राख्ने तयारी

202

नयाँ पत्रिका दैनिक- जेठ १०,
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी घटाउने तयारी गरिएको छ । निर्माणाधीन संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी चारजना मात्रै रहने व्यवस्था गरिएको हो ।
गृह मन्त्रालयका अनुसार निर्माणाधीन प्रहरी ऐनमा नेपाल प्रहरीको प्रशासन विभाग, अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र र प्रहरी अस्पतालमा मात्रै एआइजीको दरबन्दी रहने भनिएको छ । गृहले पठाएको मस्यौदामाथि प्रहरी प्रधान कार्यालयले रायसुझाब दिइसकेको छ ।

१२ एआइजीको दरबन्दी काटिने
यसअघि नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ थियो । निर्माणाधीन मस्यौदाअनुसार कानुन बने नेपाल प्रहरीमा १२ एआइजीको दरबन्दी कटौती हुनेछ । प्रदेश प्रहरी प्रमुखका रूपमा एआइजी खटाउने सरकारको निर्णयपछि तत्कालीन गृहमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले सात एआइजीको दरबन्दी थप गरेको थियो । त्यसपछि नेपाल प्रहरीमा एआइजीको दरबन्दी १६ पुगेको हो । त्यसअघि नौ दरबन्दी मात्रै थियो ।

एआइजीको नेतृत्वमा‘चेन अफ कमान्ड’ मिल्दैन-  गृहप्रवक्ता
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले संघीय प्रहरी ऐनको मस्यौदामा एआइजीको दरबन्दी घट्ने संकेत गरे । ‘संघीय प्रहरी ऐनको मस्यौदामा काम भइरहेको छ । यसमा कसको दरबन्दी घट्ने वा बढ्नेभन्दा पनि चेन अफ कमान्ड र आवश्यकतालाई केन्द्रमा राखिएको छ । जस्तो अहिले प्रदेशमा एआइजीको नै दरबन्दी कायम राख्ने विषय उठेको छ । तर, यसो गर्दा चेन अफ कमान्ड मिल्दैन,’ उनले भने, ‘प्रदेशस्थित आन्तरिक तथा कानुन मन्त्रालयको सचिव प्रथम श्रेणीको कर्मचारी रहने भनिएको छ । तर, प्रदेश प्रहरी प्रमुख एआइजी हुँदा वरीयता मिल्दैन । एआइजी विशिष्ट श्रेणीको कर्मचारी हो । यसले चेन अफ कमान्ड बिगार्छ ।’