नागरिक दैनिक- जेठ ७,
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ। एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन। माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ। दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसाबकिताब संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको हो। एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जायजेथा नेपाल कम्युनिस्ट पार्टीको हुने सहमति भएको थियो।
तत्कालीन एमालेका संगठित सदस्यले पार्टीलाई अनिवार्य रुपमा दैनिक एक रुपैयाँ लेबी बुझाउँदै आएका थिए। ‘निर्वाचनअघि नियमित लेबी तिर्ने संगठित सदस्य तीन लाख ५५ हजारभन्दा बढी थिए, पछि धेरै थपिए,’ तत्कालीन एमाले प्रचार विभागका सचिव विष्णु रिजालले नागरिकसँग भने। यसरी संगठित सदस्यको लेबीबाट एमालेकोे दैनिक आम्दानी झन्डै चार लाख रुपैयाँ देखिएको हो। एमालेको दैनिक आम्दानी चार लाख, माओवादी १४ करोड ऋणमा। पेरिसडाँडाको जग्गा धितो राखेर विभिन्न वित्तीय संस्थाबाट लिएको १३ करोड रुपैयाँ ऋण तिर्न बाँकी।
प्रधानमन्त्री र मन्त्रीले पार्टीको बैंक खातामा मासिक १५ हजार रुपैयाँ लेबी जम्मा गर्नुपर्ने एमाले नियम थियो। १४ जना मन्त्रीबाट एमालेको खातामा मासिक दुई लाख १० हजार रुपैयाँ जम्मा हुँदै आएको थियो। यस्तै प्रत्येक सांसदले मासिक १३ हजार रुपैयाँ लेबी बुझाउनुपथ्र्यो । प्रतिनिधिसभाका एक सय २१ र राष्ट्रियसभाका २७ गरी एक सय ४८ जना सांसदबाट एमालेको खातामा मासिक १९ लाख २४ हजार रुपैयाँ संकलन हुन्थ्यो। पार्टी कोटाबाट राजनीतिक नियुक्ति लिएका राजदूतलगायतले पनि अनिवार्य रुपमा लेबी बुझाउनुपर्ने नियम थियो। एमाले निकट कर्मचारी र शिक्षकले पनि पार्टीलाई लेबी तिर्दै आएका थिए। एमालेको बैंक खाता कालिमाटीस्थित कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा छ।