‘हरि गुरु’को राजनितिक आदर्शताः भत्किएकै घरमा परिवारको दैनिकी

9382
वि.स २०७२ सालको भुकम्पले भत्काएको हरिगुरुको घर

-हेमराज ढकाल
जेठ ४,
भक्तपुर । आफ्नो पार्टीभित्र मात्र होइन अन्य पार्टीका नेता र कार्यकर्ता माझपनि एक लोकप्रिय व्यक्तिको निधनले भक्तपुर जिल्लाका धेरैको मन दुःखी भएको छ । उहीँ पुरानै कोट र ढाका टोपीले नै आदर्शता र निष्ठालाई प्रतिबिम्बित हरिशरण लामिछाने एक आर्दश व्यक्तिको रुपमा चर्चित थिए । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटमा वि.स २०२४ साल फागुन ११ गते पिता हरिप्रसाद र माता देवमाया लामिछानेको कोखबाट जन्मेका हरिशरण भक्तपुरको बामपन्थी आन्दोलनका एक हस्ती हुन् ।

लामो राजनीतिक यात्रामा लाभको पद प्राप्त नगरेका हरिगुरु २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र १ को एक बाट नेकपा एमालेको तफैबाट निर्वाचित भएका थिए । उनको यो सांसद पदले छ महिनाको समयपनि कटाउन पाएन । त्यागी व्यक्तिको ३६ बर्षे लामो एउटा राजनीतिक जीवनले बिश्राम पाएको छ । जीवनमा धेरै त्याग र सर्मपन गरेका उनले जब राज्यको महत्वपूर्ण पदमा जनताबाट निर्वाचित भए । जब परिवार र वरपर खुसीहरु फुल्दै थिए उनको ५१ बर्षको उमेरमा जीवन जगत सकियो । सबैका आदर, सम्मान र मायाकै कारण उनी सबैमाझ हरिगुरु’ को उपमा पाएका थिए । अचानक देखिएको मस्तिष्कघात नै उनको जीवनको अन्तिम समय बनेर आयो ।
यसअघि कुनै रोग र स्वास्थ्य समस्याका कारण कहिल्यै अस्पताल पुग्नु परेन तर, गत आइतबार एकाएक घरमै छटपटिएर लडेका प्रदेश नम्बर ३ का सांसद लामिछाने अब कहिल्यै फर्केर नआउने गरि बिदा भए । सामान्य परिवारमा जन्मिएका लामिछानेले राजनीतिमै आफ्नो जीवन अर्पण गरे । त्यहीकारण उनको आर्थिक अवस्था राम्रो हुन सकेन । सांसद बनेपनि सांसदको सुविधा लिन पाएनन् हरिगुरुले । अहिले उनको निधनले भक्तपुर र उनका सुभेच्छुक मर्माहत बनेका छन् । तर, परिवारमा अभिभावक गुमाउँदाको पीडा त छदैछ चुनावमा गरेको खर्च र छोरीको विवाहमा भएको खर्चको आर्थिक भार पनि परिवारमा थपिएको छ ।

घर व्यवहार पूर्ण रुपमा जिवनसंगी निर्मलाले कृषिकार्यबाटै धानेको भएपनि अव श्रीमानले निर्वाचनमा खर्च गरेको खर्चको भार पनि निर्मलाकै काँधमा आएको छ । झौखेलकी निर्मलासँग वि.स २०४० सालमा लगनगाँठो कसेका हरिशरणले जिवनमा घरपरिवारलाई भन्दापनि समाजसेवा र राजनितिक जिवनलाई नै महत्व दिए । राजनीतिसँगै पुर्खेउली जमिनमा श्रीमती निर्मलाले धानेको कृषिकर्ममा कहिलेकाही सक्रिय बने । कृषिकार्यबाट नै परिवारको सामान्य जीवनशैली अगाडी बढ्यो । श्रीमती, एक छोरा, तीन छोरीसहित ६ जनाको परिवारको दैनिकी, पढाई खर्च जेनतेन चल्ने अवस्था बन्यो ।

दुई छोरीको विवाह सम्पन्न भयो ऋण काटेर, चुनाव खर्च पनि ऋण लिएरै गरे उनले । उनको र परिवारको जीवनशैली पीडामै गुज्रियो । वि.स २०७२ बैशाखको भूकम्पले भएको एउटा घरपनि भत्काइदियो । त्यसयता उनको दैनिकी टहरामा बितिरहेको थियो । उनी भत्किएको घरको पिढिमा रहेको खाटमा नै सुत्ने गरेका थिए । अब उनको श्रीमती, छोरी र छोराको जिन्दगी कति समय यसरी बित्छ भन्ने एकिन छैन् ।