नयाँ पत्रिका दैनिक- जेठ ४,
काठमाडौँ । साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पु(याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । ६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको छ । एकतासँगै शीर्ष नेताहरूले देशमा स्थिरता र समृद्धिका लागि नयाँ अध्याय सुरु भएको बताएका छन् । राष्ट्रिय सभागृहमा भएको एकता घोषणासभामा नेकपाका सहअध्यक्षद्वय केपी ओली र प्रचण्डले शान्ति, स्थिरता र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन अब नयाँ इतिहास रच्दै अघि बढेको घोषणा गरे । तत्कालीन महासचिव पुष्पलालको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टी पुनस्र्थापित गरेर उनको सपना पूरा गरेको दुवै नेताको भनाइ थियो । गत १७ असोजमा पार्टी एकता र चुनावी तालमेलका लागि भएको ६ बुँदे सहमतिलाई ७ फागुनमा सातबुँदे सहमतिमार्फत थप मूर्त रूप दिँदै उनीहरूले एकतालाई निष्कर्षमा पुयाएका हुन् ।
दल दर्ताका लागि आयोगमा निवेदन
नयाँ पार्टी दर्ताका लागि बिहीबार नै निर्वाचन आयोगमा निवेदन दिइएको छ । ४४१ केन्द्रीय सदस्यमध्ये बैठकमा उपलब्ध सदस्यहरूको हस्ताक्षरसहितका कागजात बोकेर सहअध्यक्षद्वय ओली र प्रचण्ड आफै आयोग पुगेका थिए । ‘नेपाल कम्युनिस्ट पार्टी’ पहिले नै आयोगमा दर्ता रहेकाले उनीहरूले पार्टीको नाम अन्डरलाइन ९नेपाल कम्युनिस्ट पार्टी० गरेका छन् । आयोगले बुझाइएका कागजात संविधान, ऐन र नियमावलीअनुसार भए–नभएको हेरेर ४५ दिनभित्र पार्टी दर्ता गर्न सक्ने जनाएको छ ।
घोलिएका छौँ, भेदभाव हुँदैन- केपी ओली, सहअध्यक्ष, नेकपा
हामी एक–अर्कामा मिसिएका होइनौँ, घोलिएका छौँ । हिजो कुन पक्षबाट आएको थियो भनेर कसैप्रति पूर्वाग्रही, भेदभावपूर्ण व्यवहार गरिनेछैन । समभावका साथ व्यक्तिको योग्यता, क्षमता र भोलिका सम्भावना हेरेर जिम्मेवारी दिन्छौँ । अब नेपालमा कम्युनिस्टका लागि दुईतिहाइ सामान्य जोडघटाउको कुरो हो ।
अस्थिरता र अराजकताको युग सकियो- प्रचण्ड, सहध्यक्ष, नेकपा
अब देश अस्थिरता र अराजकताको युगबाट स्थिरता, समृद्धि र सुशासनको युगमा प्रवेश गर्छ । इतिहासमा धेरै कम्युनिस्ट पार्टीले आन्दोलनका समयमा ठुल्ठूला त्याग र बलिदान गरेका छन्, तर सत्तामा पुगेपछि भ्रष्ट र स्खलित भएका उदाहरण छन् । अब बन्ने कम्युनिस्ट पार्टी एक्काइसौँ शताब्दीका चुनौती र सम्भावना बुझ्ने हुनेछ ।
तीन अर्बको सम्पत्ति
एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् । माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ । धेरै जिल्लामा आफ्नै जग्गा र भवन पनि छ । दुवै पार्टीको स्वामित्वमा रहेको चलअचल सम्पत्ति अब नेपाल कम्युनिस्ट पार्टीको स्वामित्वमा आउने नेताहरूले बताएका छन् ।