डायरी लेखेर छोडेका वडाध्यक्ष मृत भेटिए

190

बैशाख २६,
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् । बुधबार बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो । खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै फेला परेको थियो । ती सामान भेटिएकोभन्दा करिब पाँच सय मिटर तल शव भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए । खत्री गाउँपालिका सदस्यलाई समेत बैठकमा जानुपर्छ भनी खबर गरी घरबाट हिँडेका थिए । मंगलबारको गाउँकार्यपालिकाको बैठकमा अबेरसम्म नआएपछि वडाध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन नउठेको र घरपरिवारमा फोन गर्दा बिहानै हिँडेको जानकारी आएपछि उनको खोजी सुरु गरिएको थियो । खत्री नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।