खोटाङ–ओखलढुंगा सिधा यातायात सञ्चालन

257

बैशाख २६,
खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात सेवा शुरु भएको छ । सिधा यातायात सेवा शुरु भएपछि दुई जिल्ला आवत÷जावत गर्दा बीचमा पर्ने हिलेपानीमा ओर्लेर घण्टौँसम्म अर्को बस कुर्नुपर्ने बाध्यता हटेको छ ।
दिक्तेलबजारदेखि दैनिक बिहान ६ बजे र ओखलढुंगाबाट दैनिक बिहान साँढे ६ बजे बस छुट्ने व्यवस्था मिलाइएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङ्माङले जनाउनुभयो । महासचिव हिङमाङका अनुसार अहिलेका लागि प्रतिव्यक्ति रु ८०० भाडा लिएर बस सञ्चालन गरिएको छ । दुई जिल्लाको नाकामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आइसकेको कारण सिधा यातायात सेवा प्रभावकारी र दीर्घकालीन हुने व्यवसायीको ठम्याइ छ । यो सँगै ओखलढुंगासम्म चल्ने बसमा दिक्तेलबाट हुर्लुङ, नुनथला, महुरे, बिजुले, अर्खौले, हलेसी, जयरामघाटसम्म स्थानीयवासीलाई समेत यात्रा गर्न सहज हुनेछ । अहिले दिक्तेलबाट मात्र जीप तथा बस गरी दैनिक १७ वटा बाहिरी जिल्ला छुट्ने गरेको छ । दिक्तेल–काठमाडौँ, दिक्तेल–धरान र दिक्तेल–विराटनगर सिधा यातायात सेवा सञ्चालनमा रहेको यातायात व्यवसायी संघले जनाएको छ ।