Thursday, September 24, 2026
Home राजनीति घर बनाउने जग्गा खोज्दै प्रचण्ड

घर बनाउने जग्गा खोज्दै प्रचण्ड

220

बैशाख २२,
पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घर बनाउने जग्गा खोज्दै जन्मथलो कास्कीको ढिकुरपोखरीमा पुगेका छन् । माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रचण्ण्ड आफ्नो परिवार बस्ने घर बनाउनका लागि जग्गा खोज्दै कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे पुगेका हुन् ।
उनी शनिबार विहान पत्नी सीता दाहाल, छोरी गंगा दाहाल रनातिसहित लेवाडे पुगे । त्यहाँ उनले स्थानिय हरिध्वज तुलाचनको जग्गा हेरे । २ ठाउँ जग्गा हेरेका उनले दुई मध्ये कुनै एउटा जग्गा किन्ने सोच बनाएको भाइ मुक्तिराम दहालले जानकारी दिए । प्रचण्डका ठूला बुबाका छोरा मुक्तिरामका अनुसार प्रचण्डले ५ देखि ९ रोपनी सम्म जग्गा लिने सोच बनाएका छन् ।
प्रचण्डले घर बनाउनका लागि भनेर हेरेको जग्गाबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृंखला देखिन्छ । उपयुक्त हावापानी भएकाले बस्नका लागि पनि सो ठाउँ योग्य भएको जग्गाधनी तुलाचनले बताए । जग्गाको मूल्य प्रतिरोपनी करीब ५० लाख पर्ने बताइएको छ । माओवादी अध्यक्ष प्रचण्डले दिर्घकालीन रुपमा बस्नका लागि नभएपनि पोखरा आउँदा बस्नका लागि जग्गा लिन लागेको बताए ।
भावनात्मक रुपमा ढिकुरपोखरी नजिक भएकाले घर बनाउने सोच आएको बताउँदै भने, ‘यहाँ आएपछि बचपनका यादहरु सबै ताजा भएर आउँछन् । यहाँको माटो र यहाँका जनतासँग भावुकता र आत्मियता छ, त्यसैले १ टुक्रा जमिन मेरो छ भन्ने बनाउनका लागि जग्गा किन्ने सोंच बनाएको हुँ ।’
आफूले जन्मथलो ढिकुरपोखरीका लागि अहिलेसम्म केहि गर्न नसकेको बताउँदै उनले जग्गा लिएर घर बनाएपछि जन्मस्थानसँग अपनत्व पनि हुने, स्थानियसँग भेट भएर भलाकुसारी गर्न पाइने र त्यहाँको विकासमा पनि योगदान दिन पाइने भएकाले आफूले घर बनाउने सोच बनाएको उनले सुनाए ।