Wednesday, October 7, 2026
Home समाचार नेपाल इन्जिनियरिङ्ग कलेज डुबाउन कस्को बदमासी ?

नेपाल इन्जिनियरिङ्ग कलेज डुबाउन कस्को बदमासी ?

1553

बैशाख १६,
भक्तपुर । चाँगुनारायण नगरपालिका १ र ४ नं. वडामा सञ्चालित नेपाल इन्जिनियरिङ्ग कलेज बन्द गराउन चलखेल शुरु भएको भन्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्रले सम्बन्धित सरोकारवाला निकायसँग कलेज बचाउने अभियानमा जुट्न आग्रह गर्नुभएको छ । नगर प्रमुख मिश्रले मुनाफा रहित सामाजिक संस्थाका रुपमा स्थापना भएको इन्जिनियरिङ्ग कलेजलाई नाफा मुलक कम्पनीमा रुपान्तरण गरि आर्थिक अपचलन गर्न खोज्ने केही सञ्चालकहरुले कलेजका सम्बन्धमा भ्रम सिर्जना गरि चलखेल गरिरहेको बताउनुभयो ।
मिश्रले पत्रकार सम्मेलन गरि यसअघि कलेजलाई प्रा.लि. बनाई पोखरा विश्वबिद्यालयको सम्बन्धन खारेज गर्ने र चाँगुनारायणबाट कलेजलाई स्थानान्तरण गर्न खोज्ने सञ्चालकहरु पुनः सक्रिय भएको बताउनुभयो । यसअघि कलेजको सम्बन्धन खारेज गर्न खोज्ने, जग्गा बिक्रि गरि मध्यमाञ्चल विश्वबिद्यालयको सम्बन्धन लिई कलेजलाई अन्यत्र स्थानान्तरण गर्न खोज्ने सञ्चालक बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापकहरु र चाँगुनारायणबासीको प्रयास र आन्दोलनबाट पछाडि हटेको भएपनि अहिले पुनः सलबलाएको उल्लेख गर्नुभयो ।
उहाँले कलेजका बिद्यार्थी, चाँगुवासी, अभिभावकको दबाबमा कानुनसम्मत रुपमा कलेज सञ्चालनमा नगरपालिकाको जिम्मेवारी रहने गरि कलेज सञ्चालक समितिको सञ्चालकमा अध्यक्ष लम्बोदर न्यौपानेसहितको पूर्ण बैठकले आफुलाई नियुक्त गरेको बताउनुभयो । अहिले आर्थिक चलखेल र सम्बन्धन परिवर्तन गरि सामाजिक संस्थालाई नीजिकरण गर्न खोज्ने तीनै लम्बोदरलगायतको समूहले आफ्नो चरित्र हत्या गरि भ्रम सिर्जना गर्दै कलेजलाई पुनः नीजिकरण प्रक्रियामा लैजाने कार्य गर्न खोजेको उहाँले दाबी गर्नुभयो ।
नगर प्रमुख मिश्रले कलेजका सञ्चालक लम्बोदर न्यौपाने, सुर्यबहादुर केसी, लवराज भट्टराईलगायतले २० करोडभन्दा बढि रकम दुरुपयोग गरेको बताउनुभयो । प्रेस विज्ञप्तीमा रजिष्टर चार्टर एकाउन्टेन्टबाट लेखा परिक्षण गराउँदा उनीहरुको नाममा रकम दुरुपयोग गरेको भन्दै बेरुजु देखिएको उल्लेख छ ।
यस्तो छ वीर अस्पताल र नेपाल इन्जिनियरिङ कलेजको जग्गाको सम्बन्धमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम मिश्रले जारी गरेको प्रेस विज्ञप्ती ः
१. नेपाल इन्जिनियरिङ कलेज सामाजिक संस्थाको रुपमा चाँगुनारायण नगरपालिका वडा नं. १ र ४ मा २०५३ सालदेखि संचालित छ ।
२. जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मिति २०६० भाद्र ४ गते सामाजिक संस्थाको रुपमा दर्ता नं ५५२ मा भएको देखिन्छ । स्थानीय स्तरमा संचालन भएको हुँदा तत्कालिन चाँगुनारायण गाविसले १७४ रोपनी सार्वजानिक जग्गा कलेजलाई उपभोग गर्न अनुमति दिइएको देखिन्छ ।
३. पछिल्लो समयमा कलेजले मुनाफा वृद्धि गर्दै गएपछि संचालकहरुले कलेज परिसरमा पाइलै नटेके पनि ५ लाख रुपैयाँसम्म मासिक पारिश्रमिक लिने र करोडौं रकमको निजी सवारी साधन खरिदका लागि रकम लिएको पाइयो ।
४. कलेजका ७ जना संचालकहरुमध्ये ४ जनाको लिखित सहमतिमा अध्यक्ष लम्वोदर न्यौपानेले कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरमा सामाजिक संस्थाको रुपमा संचालनमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई प्रा. लि. दर्ता गरेको र कलेजको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति उक्त प्रा. लि. को नाममा हुने भनिमिति २०७४ वैशाख २५ गते प्रा. लि.को प्रमाणपत्र र प्रवन्धपत्र समेत दर्ता स्विकृत लिएको ।
५. यसको विरुद्वमा संचालक हरि प्र. पाण्डे, सलिल भट्टराई तथा कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दिपक भट्टराईसमेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा प्रा. लि. खारेज गर्ने र कलेजलाई सामाजिक संस्थाको रुपमा पूर्ववत फर्काउने र कलेजलाई बचाउने अभियानमा लाग्नुभएको ।
६. अध्यक्ष लम्वोदर न्यौपाने समूहको कर्तुतहरु ः (क) कलेजलाई प्रा. लि. बनाएर सम्पूर्ण सम्पत्ति हडप्ने । (ख) कलेजलाई चाँगुनारायणबाट अन्यत्रै सार्ने (ग) पोखरा विश्वविद्यालयको सम्बन्धनबाट संचालित कलेजको सम्बन्धन खारेजी गरी मध्यपश्चिम विश्वविद्यालयबाट प्रा. लि. का नाममा नयाँ सम्वन्धन लिने ।
७. स्थानीयजनता, शिक्षक÷कर्मचारी र विद्यार्थीसमेतको व्यापक माग र दवावका कारण जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको समझदारी बमोजिम मिति २०७४÷०५÷२९ को १८० औं वैठकबाट चाँगुनारायण नगरपालिका प्रमुखलाई संचालक समितिमा नियुक्ति गरिएको पत्र प्राप्त भयो ।
८. म संचालक समितिमा नियुक्ति भएपछी ५ वटा सफलताहरु प्राप्त भयो ।
(क) नेपाल ईन्जिनियरिङ्ग कलेज प्रा.लि. खारेज गरियो,
(ख) कलेजलाई सोही स्थानमा संचालन गर्ने सुनिश्चितता गरियो ।
(ग) मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन निर्णय खारेज गरियो ।
(घ) पोखरा विश्वविद्यालयसँगको सम्बन्धन कायम गरियो
(ङ) शिक्षा मन्त्रालयबाट प्रा.लि.का नाम लिइएको ीइक्ष् (आशयपत्र) खारेज गरी साविक सामाजिक संस्थाको रुपमा रहेको नेपाल ईन्जिनियरिङ्ग कलेजको नाममा लिइयो ।

९. हाल कलेजमा दुईवटा संचालक समिति छन् कलेजलाई निजिकरण गर्ने, कलेजको नाममा भएको ३६ रोपनी जग्गा बिक्रि गरेर अन्यत्र स्थानान्तरण गर्न चलखेल गर्ने लम्बोदर न्यौपाने, सूर्य बहादुर के.सी., लबराज भट्टराई, उपेन्द्र गौतमको समूह र अर्को कलेजलाई गैर नाफामूलक सामाजिक संस्थाको रुपमा संचालन गरिरहेको मसहित प्रा.डा. दिपक भट्टराई, हरि प्रसाद पाण्डे, सलिल भट्टराईको समूह ।
१०. म संचालक भएपश्चात कलेजको आर्थिक हिसाव पारर्दशि बनाउन रजिष्टर चार्टर्ड एकाउन्टेन्टबाट लेखा परिक्षण गराउँदा प्रारम्भिक प्रतिवेदन अनुसार लम्बोदर न्यौपानेको नाममा १३ करोड, ३६ लाख, सूर्य बहादुर के.सीको नाममा २ करोड १८ लाख ५० हजार, लवराज भट्टराईको नाममा २ करोड ४३ लाख ५९ हजार, उपेन्द्र गौतमको नाममा १ करोड १८ लाख १६ हजार र रामरत्न उपाध्यायको नाममा ७९ लाख ३२ हजार रुपैयाँ बेरुजु देखिएको छ । म संलग्न संचालक समितिको मिति २०७५ बैखाश ५ गतेको बैठकले पन्ध्र दिनभित्र उक्त रकम फिर्ता गर्न र अन्यथा कानुनी प्रकृयामा जाने निर्णय गरेको जानकारी गराउँदछु ।
११. राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तार सोही स्थानमा हुनुपर्छ र नेपाल इन्जिनियरिङ कलेज पनि सोही स्थानमा गैर नाफामूलक संस्थाको रुपमा संचालन हुनुपर्छ भन्ने कुरामा म दृढतापूर्वक उभिएको छु । प्रतिष्ठानको नाममा रहेको ५७० रोपनी जग्गामध्ये १७४ रोपनी क्षेत्रफल इन्जिनियरिङ्ग कलेजले भोगचलन गरेको छ । सो जग्गामा बनेका नेपाल इन्जिनियरिङ्ग कलेजका संरचनाका बारेमा दुबै संस्थाको आपसी समझदारीबाट निर्णय हुने कुरा हो । यसमा नगरपालिका प्रमुख एक्लैले केही गर्ने वा गरेर हुने कुरा होइन ।
कलेजको जग्गा कलेजकै नाममा र वीर अस्पतालको जग्गा वीर अस्पतालकै नाममा कायम गरि भोगचलन गर्ने कुरामा मेरोतर्फबाट सुनिश्चित गर्न म हिजोपनि, आज र भोलिपनि प्रतिवद्ध एवम् क्रियाशिल रहीरहेको कुरा दोहो¥याउन चाहन्छु ।