दलित परिवारको पुनःनिर्माण अनिश्चित

114

बैशाख १५,
गोरखा । एकसाथ गल्र्यामगुल्र्युम ढलेका वरपरका घर विस्तारै ठडिदै जाँदा आफ्नो घर बनाउने कुनै टुंगो नभएपछि गैरीगाउँ र डाँडागाउँका दलित समुदाय अझै छाप्रामुनि कष्टप्रद जीवन धान्न बाध्य छन् । भूकम्पको केन्द्रबिन्दुमा असह्य पीडा व्यहोरेका साविकको बारपाक गाविस–५, गैरीगाउँ र डाँडागाउँका ३२ दलित परिवारमध्ये २७ परिवार अहिलेसम्म हिउँदमा तपतप शीत र वर्षामा पानी चुहिने छाप्रामा दैनिक जीवन गुजार्न विवश छन् । भूकम्पले चिराचिरा परेको यस बस्तीमा सरकारले खुला जीवित भूकम्प संग्रहालय बनाउन भन्दै बस्ती सारेपछि दलित समुदाय बिचल्लीमा परेका हुन् । “आजसम्म हामीलाई जग्गा दिने प्रक्रिया सरकारले शुरु गरेको छैन । छाप्रामा बस्न बाध्य छौँ । पानी पर्दा तपतप चुहिन्छ । कहिले जग्गा आउने हो थाहा छैन”, गैरीगाउँकी ठूलीमाया विकले गुनासो पोख्नुभयो ।

सरकारले ती सारिएका परिवारका नाममा जग्गाधनी प्रमाणपत्र हालसम्म दिएको छैन । प्रमाणपत्र नहुँदा उनीहरुले पुनःनिर्माणका लागि हालसम्म पहिलो किस्तापछिको अनुदान पाएका छैनन् । “पुनःनिर्माण शुरु नहुँदा छाप्राभित्र दुःख र पीडामा दैनिकी चलाउनु परेको छ । कहिले जग्गाधनीको प्रमाणपत्र पाउने हो टुंगो छैन”, अविनाश विकले भन्नुभयो । बारपाकका एक हजार ४५७ घरमध्ये अधिकांश घर पक्कीरुपमा ठडिसकेका छन् । भूकम्प गएकै वर्ष दलीय सहमतिमा गैरीगाउँमा खुला जीवित भूकम्प संग्रहालय बनाउने भन्दै दलित बस्ती हटाइ वारपारको तल्लो गाउँमा सारिएको थियो ।

संग्रहालय बनाउँदा विस्थापित हुनेलाई बारपाकको तल्लो भेगको कृषि, पशु सेवा र जलाधार कार्यालयको नाममा रहेको १४ रोपनी जग्गा दिने सम्झौता गरिएको थियो । त्यही सम्झौताका आधारमा २७ दलित परिवारलाई सारिएको हो । स्थानीयवासीले छोडेको स्थानको जग्गा धनी प्रमाण पूर्जा भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयमा बुझाइसकेका छन् ।