पर्यटन विकासका लागि पूर्वाधारमा लगानी बढाउँदै

97

बैशाख १५,
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सौराहा र कुमरोजको पर्यटनलाई जोडेर पर्यटन पूर्वाधार विकासमा लगानी बढाएको छ । खैरहनी नगरपालिकाको धेरै क्षेत्र पर्यटकीय सम्भावना बोकेकाले यसतर्फ ध्यान केन्द्रित गरी पर्यटन पूर्वाधारमा लगानी बढाएको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पहिलो चरणमै नगरपालिकाले यहाँका विभिन्न क्षेत्रको पर्यटकीय पूर्वाधारको विकासका लागि रु एक करोड ५० लाखभन्दा बढी लगानी गर्न लागेको छ । पर्यटकलाई एकरात खैरहनीमै राख्ने योजनाका साथ पर्यटन पूर्वाधारमा लगानी बढाइएको हो । केही योजना शुरुसमेत भइसकेका छन् । “कतिपय कार्यक्रम शुरु भए, कतिपय शुरु हुन बाँकी छ, नगरप्रमुख चौधरीले भन्नुभयो, अब एकदिन पर्यटकको बास खैरहनीमै राख्ने गरी पर्यटकीय पूर्वाधार बनाइन्छ ।” चितवनको खैरहनी नगरपालिकाको कुमरोज क्षेत्र सौराहापछिकै पर्यटकीय केन्द्रका रुपमा विकास भइरहेको छ । पर्यटकले सौराहामा पाउने मनोरञ्जन लगभग सबै कुमरोजमा नै पाइने कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङ बताउनुहुन्छ ।